खोक्रो

खोक्रो



खोक्रो पनि आवाज हुन्छ
कि सुरिलो कि भद्दा
कि ठूलो कि सानो
मादल खोक्रो छ
र, खोक्रो पनि घन्किन्छ
मादलकै आवाजमा धिन्ताङ धिन्ताङ…

बज्नेहरु
सनई, तुरही, सारङ्गी, घण्टी
जति छन् सबैसबै नै खोक्रा छन्
खोक्रो खोक्रो छ
र नै बज्छ ।

खोक्रो त कोक्रो पनि छ
जुन कोक्रोले आमाको लोरीगीत बोक्छ
त्यो लोरीगीत पनि
खासमा खोक्रो छ
जसभित्र अटाउँछ
संसारको सारा सारा निद्रा
खोक्रो छ सुरुङ पनि
जहाँबाट ओहोर–दोहोर गर्छन्
कुनै सपना छाड्ने यात्राहरु
कुनै आस्था पुग्ने यात्राहरु

खोक्रो नै छ टेलिसकोप पनि
जसले देखाउँछ ब्रह्माण्ड

खोक्रो छ तिमीले लगाउने लुगासम्म
लुगाले खोक्रो नभइदिनु हो भने
तिमी नाङ्गिन्छौ

तिम्रो सभ्यता अडेको छ
यही खाक्रोको खोक्रोपनमै
खोक्रोलाई मात्र खोक्रो नसम्झिनू तिमी
जीवनको बीऊ छ त्यहाँ

हाम्रा पाइलाहरु चलमलाउँछन्
जिउँदो भई उठ्छन् मनहरु
खोक्रोमै भ्रुण बनिनलाई पनि
कोख त पहिले खोक्रो नै हुनुपर्छ ।
गान्तोक