शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्मा पेस हुन्छ : शिक्षामन्त्री राई

शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्मा पेस हुन्छ : शिक्षामन्त्री राई



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्मा पेस गर्ने बताएका छन् । गत असार ४ गते मन्त्रिपरिषद्मा पेस गरिएको विधेयक त्यहाँबाट स्वीकृत हुन बित्तिकै संसद्मा पेस गर्ने उनले बताए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले शिक्षा ऐनसम्बन्धी विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको पनि बताए ।

शिक्षा ऐनले दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय सुधारका धेरै काम पूरा गर्ने बताए ।

मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रका सुधारका लागि दातृ निकायहरूले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाएको सदनलाई जानकारी गराए ।

राईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि यसको बजेट वृद्धि गर्दै लगिने बताएका छन् ।

“सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यावहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन सक्दैन । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सबलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागिरहेको छ,” उनले भने, “शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रयास गरिनेछ । शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।”