काठमाडौं । थाइल्यान्डले श्रीलङ्कालाई उपहार दिएको एउटा हात्तीलाई स्वदेश फर्काएको छ । सन् २००१ मा उपहार दिएको हात्तीलाई श्रीलङ्कामा यातना दिइएको आरोपका कारण दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएपछि स्वदेश फर्काएको बीबीसीले जनाएको छ ।
मुथु राजा नामको २९ वर्षको हात्ती एउटा व्यावसायिक उडानमार्फत थाइल्यान्ड पुगेको छ । एउटा बौद्ध धार्मिक स्थलमा राखिएको समयमा हात्तीलाई यातना दिइएको आरोपपछि थाइल्यान्डले फर्काइदिन माग गरेको थियो । श्रीलङ्काका प्रधानमन्त्रीले आफूले औपचारिकरूपमा थाई राजासँग माफी मागेको बताएका छन् ।
थाइल्यान्ड र श्रीलङ्का दुवैले हात्तीलाई पवित्र जनावरका रूपमा लिने गर्छन् । सन् २००१ मा थाइल्यान्डको शाही परिवारले मुथु राजासहित तीन वटा हात्ती श्रीलङ्काको सरकारलाई उपहार दिएको थियो । एउटा धार्मिक केन्द्रको रेखदेखमा राखिएको मुथु राजालाई रुख कटान गर्ने व्यक्तिहरूसँग काम गर्न लगाइएको र चोटको बेवास्ता गरिएका कारण उसलाई खुट्टा चलाउन गाह्रो हुँदै आएको भन्दै पशु अधिकारवादी समूहले विरोध गरेको थियो ।
मुथु राजामाथि भएको यातनाको विरोधपछि थाई सरकारले तीन वर्षयता देशबाहिर हात्तीहरू पठाउन रोक लगाएको छ । यस्तै त्यहाँको वन्यजन्तु विभागले पहिल्यै विदेश पठाइएका थाई हात्तीको अवस्थाबारे अनुगमन गरिरहेको जनाएको छ ।
प्रतिक्रिया