नयाँ पुस्ताको सहभागिताले मात्र एनआरएनएमा रुपान्तरण सम्भव छ : रुविना शर्मा, महासचिवकाे प्रत्यासी, बेल्जियम

नयाँ पुस्ताको सहभागिताले मात्र एनआरएनएमा रुपान्तरण सम्भव छ : रुविना शर्मा, महासचिवकाे प्रत्यासी, बेल्जियम


ग्लोब नेपाल
3.2k
Shares

गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचन १६ जुलाईमा हुँदैछ । करिब १० हजार गैरआवासीय नेपालीहरु बेल्जियममा बस्दै आएका छन् । ती मध्ये २५ सय जनाले संघको सदस्यता प्राप्त गरेका छन् । आगामी निर्वाचनमा अध्यक्ष र महासचिवलगायतको पदको लागि उम्मेदवारहरु खडा भएका छन् । यिनै उम्मेदवारकाबीच २५ वर्षिया रुविना शर्माले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै महासचिव पदमा उम्मेदवारी दिएकी छन् । करिब १ दर्जन भाषामा पोख्त रुविनाले बेल्जियममा वायोटेक्नोलोजिमा ब्याचलर डिग्री गर्दैछिन् । एनआरएनए बेल्जियमको निर्वाचनको सेरोफेरोमा रहेर रुविनासँग गरिएको कुराकानी–

० एनआरएनए अभियानमा किन लाग्नुभयो ?
– म यो अभियानमा आउँछु भनेर लागेको होइन् । बेल्जियममा मेरो सक्रियता देखेर केही युवा र अग्रजहरुले एनआरएनएमा काम गर्न आग्रह गर्नुभएको हो । संस्थाको उद्देश्य राम्रो लाग्यो र यसैमा सक्रिय भएकी हुँ ।

० अहिले नै महासचिव पदमा उम्मेदवार बन्न के को हतार ?
– म एनआरएनएमा नजोडिए पनि समाजमा सकृय थिए । संस्थामै रहेर काम गरेको दुई वर्ष भयो । सदस्यबाट शुरु गरेको थिए । मेरो कामको उच्चमुल्यांकन गरेर कार्यसमितिले सिधै सचिवालयमा ल्याएर सचिव सरह काम गर्ने अवसर दियो । कार्यसमितिप्रति आभारी छु । संघको दुई दशक लामो इतिहासमा नयाँ पुस्ताले महासचिव बन्ने अवसर पाएको छैन् । यो पटक अब संस्थामा रुपान्तरण हुनुपर्छ भनेर मैले आँट गरेकी हुँ । सबैको सहयोगको अपेक्षा गर्दछु ।

० चुनावी मुख्य अजेण्डा के के छन् ?
– मेरो विचारमा समाजका समस्याहरु अर्के छन् तर संस्था अरुतिर रुमलिएको छ । हामी अब समाज केन्द्रीत हुनुपर्छ । यहाँ बुढाबुढी युवा, बालवालिका छन् । उनीहरुमा उमेर अनुसारका समस्याहरु छन् । जस्तो बुढाबुढीहरुलाई स–साना समस्या छन् उनीहरुको भाषाको समस्या छ । राम्रोसँग बैंक कार्ड चलाउन आउदैन् । युवाहरुले बीचैमा आफ्ना पढाई छोडेर भौतारिएका छन् । नयाँपुस्ता कुलततिर लाग्ने सम्भवना बढी छ । विदेशमा हुर्किदै गएको नेपाली पुस्ताको नेपालसँग जोडिने नाता भन्ने नागरिकता हो त्यो पनि खोसिएको छ । त्यसैले समुदाय र समस्या केन्द्रीत भएर काम गर्नु पर्छ भन्ने लाग्छ ।

० त्यसो भए अहिलेसम्म एनआरएनएले केही गरेन् भन्न खोज्नु भएको हो ?
– हेर्नुहोस् अहिले एनआरएनए कसरी चलेको छ। यही आसनग्रहण, भाषण, राजनीति, आरोपप्रत्योपका बीच दोस्रो पुस्ता यो अभियानमा जोडिन्छ रु अब रुपन्तरण हुनु पर्छ त्यसको लागि म र मजस्तै नयांपुस्ता यो संस्थामा जोडिनु पर्छ । पुरानो पुस्तालाई अब सम्मान दिने हो । हामीले डेलिभरी दिने हो समाजको लागि ।

० यी समस्याहरु समाधानको लागि तपाईसँग के छन् योजना ?
– एक एक प्राथामिकता तोकेर काम थाल्नु पर्छ । नयाँ पुस्तालाई नेपाली भाषा कक्षा अघिनै शुरु गरेका छौं । अब यहाँको भाषाको समस्या भएकाहरुलाई भाषा कक्षा संचालन गर्न सकिन्छ । प्रविधिमैत्री समाज बनाउन सकिन्छ । पढाई छोडेकाहरुलाई शिक्षाको मुलप्रवाहमा जोड्न स्थानीय निकायहरुसँग मिलेर काम गर्न सकिन्छ । म त्यो गर्न सक्छु । हेल्प लाइनको व्यवस्था गरेर समस्याहरुलाई अभिलेखिकरण गरेर अनि समस्याको समाधान गर्ने हो ।

० संस्थामा यति धेरै बिकृति छन्, केन्द्रदेखि तलसम्म विवाद मात्र छ यस्तो अप्ठ्यारोमा कसरी काम गर्नु हुन्छ ?
– संस्था ठूलो भएपछि समस्या आईहाल्छ । संस्थाको मुख्य विकृति राजनीति हो । त्यसलाई कम गर्ने मुख्य उपाए भनेको नयांपुस्ताको आगामन हो । नयाँ पुस्ता संस्थामा आए पछि यो परम्परावादी सोचमा परिवर्तन आउछ । संस्थाको विधि र विधानमा रहेर समस्याको समाधान खोज्ने हो । अप्ठ्यारो छ भनेर भाग्ने होइन् नि !

० तपाई जस्तै नयाँ पुस्ताको नागरिकता त खोसियो नि ?
– हो, हामी विदेशी हुन चाहदैनौ । एक पटकको नेपाली सधैंको नेपालीनै हो । राज्यले कानूनमा विभेद गरेर हामीलाई विदेशी बनाउन खोजेको तर आउदै गरेको एनआरएन नागरिकताले हामीलाई केही भए पनि जोड्छ भन्ने विश्वास लागेको छ । वंशजको जन्मसिद्ध नागरिकता खोस्न अन्तराष्ट्रिय प्रचलन अनुरुप पनि मिल्दैन। हामी वंशजको नागरिकतको पक्षमा लडिरहनु पर्छ ।

० चुनाव जित्ने आधारहरु के के छन् ?
– अहिले एनआरएन बेल्जियम नयाँ पुस्तामय भएको छ । अधिकांश सदस्यहरु नयांपुस्ताका छन् । यहाँ दलिय उम्मेदवारहरुको विगविगि छ तर अहिले दलहरुप्रति समाजको वितृष्णा रहेको छ । अहिलेका जमनामा मानिसहरु परम्पराबादी नेतृत्वको पक्षमा उभिदैनन् भन्ने लाग्छ । म फेरि सो समाजमा सकृय काम गर्दै आएको एउटा सदस्य भएकोले आफ्नो बहिनी छोरी जस्तो नयांपुस्ता यो अभियानमा जोडिदा समाजले मलाई निरासा बनाउदैन् भन्ने विश्वास लिएकी छु ।