कोटेश्वर क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणिकरण

कोटेश्वर क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणिकरण


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणिकरण प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगको गत हप्ता बसेको बोर्ड बैठकले देश भरिका कलेजहरुमध्ये कोटेश्वर बहुमुखी क्याम्पस सहित दुई वटा कलेजलाई क्यूएए प्रमाणिकरण गर्ने निर्णय गरेको थियो ।

पढाईको गुणस्तर राम्रो भएका, विद्यार्थीसंख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएका लगायत तोकिएको मापदण्ड पुरा गरेका कलेजहरुलाई विश्व विद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणिकरण गर्ने गरेको छ । विश्व विद्यालय अनुदान आयोगले अहिलेसम्म देश भरिका साडे ६ सयभन्दा बढी सामुदायिक कलेजहरुमध्ये ६२ वटा कलेजलाई क्यूएए प्रमाणिकरण गरेको छ ।

क्यूएए प्राप्त गरेको अवसरमा कोटेश्वर बहुमुखी क्याम्पसले बुधबार खुशीयाली सहित बधाई कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा क्याम्पसका प्रिन्सिपल गोविन्दबहादुर कार्कीले क्याम्पसले सधै गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्व विद्यालय अनुदान आयोगले क्यूएए प्रमाणिकरण गरेको बताउदै गुणस्तरीय शिक्षा प्रदान गर्नमा कोटेश्वर क्याम्पस अब्बल रहेको यसले प्रमाणित गरेको बताए ।

पुर्वराजदूत महेन्द्रबहादुर पाण्डेले क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीको अथक मेहनतका कारण क्यूएए पाएको बताउदै भविश्यमा यो कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रका रुपमा विकास गर्ने जिम्मेवारी थपिएको बताए । कोटेश्वर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सञ्जय बुढाथोकीले क्यूएए कोटेश्वर क्याम्पसलाई नयाँ पहिचान मात्र नदिएर नयाँ उचाई समेत दिएको दावी गर्दै आफ्नो नेतृत्वमा क्याम्पसमा रहेका ५ वटै विद्यार्थी संगठनहरुले भविश्यमा कहिल्यै पनि क्याम्पसमा तालावन्दी नगर्ने प्रतिवद्दता व्यक्त गरेको स्मरण गराए ।

क्याम्पसका उप प्राध्यापक डा.बालाचन्द्र अधिकारीले अनुदान आयोगले आफूहरुले गरेको मूल्यवान कामको सही मूल्यांकन गरेर क्यूएए प्रदान गरेकोमा धन्यवाद दिदै गुणस्तरीय शिक्षा प्रदान गर्नका आफूहरुले अझ बढी मेहनत गर्ने बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामबाबु नेपालले क्यूएए पाएपछि यहाँको पढाई गुणस्तरीय छ भन्ने प्रमाणित भएकोमा जोड दिए । सामुदायिक क्याम्पसहरुको भिडमा छुट्टै छवि बनाएको कोटेश्वर बहुमुखी क्याम्पसले न्यूनतम शुल्कमा प्लस टू, स्नातक र स्नातकोत्तर तहमा पठन् पाठ्न गरिरहेको छ । यहाँ ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।