टोकरी

टोकरी



टोकरी पाएपछि
नानीले सबथोक भुली
खाना भुली, आमा भुली
टोकरी पाएपछि काख भुली
काख छोडेकी नानीलाई
आमाको कुनै अधिन पनि त लाग्दैन ।
सबथोक बिर्सेर
टोकरी भर्नुछ नानीलाई

टोकरीमा फूल राखी
उनलाई जून मन पर्‍यो
फूल झिकेर जून राखी
उनलाई तारा झन् मन पर्‍यो
तारा भन्दा पनि उनलाई त
हावा,पानी,पुतली,बादल झन् के के मन पर्‍यो
टोकरी एउटा छ, राख्नु छ धेरै थोक
राख्दै-झिक्दै, राख्दै-झिक्दै गर्दागर्दै
झमक्कै साँझ पर्‍यो
नानी रुन थाली
टोकरी रित्तै थियो

टोकरीलाई जीवनसँग दाँजेर
नानीसँगै आमा पनि रोइन्
धेरै इच्छाहरु पूरा गर्न खोज्दाखोज्दै
आखिर, जीवन पनि त टोकरीजस्तै रित्तै हुने रहेछ ।

अन्ततः
सुक्सुकाउँदै नानीलाई भनिन् आमाले
टोकरीमा एकथोक भर
बाँकी सबैको यादहरु मनमा भर ।