महिला विश्वकप : नर्वे र स्विट्जरल्यान्ड अन्तिम १६ मा

महिला विश्वकप : नर्वे र स्विट्जरल्यान्ड अन्तिम १६ मा



काठमाडौं । नर्वे र स्विट्जरल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् ।

आज आइतवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएको समूह ‘ए’ को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० गोलले हराएर नकआउटमा स्थान पक्का गरेको हो । नर्वेकी सोफी रोमान हगले ह्याट्रिक गरिन् । यस्तै क्यराेलिन ग्राहक हनसेनर गुराे रिटेनले गाेल गर्दा नर्वेले एक गाेल आत्मघाती उपहार पायाे । नर्वे ३ खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा रहँदै अन्तिम १६ मा पुगेकाे हाे । फिलिपिन्स ३ खेलमा ३ अङ्कसहित पुछारमा रहेर बाहिरिएको छ ।

आजै भएको समूह ‘ए’ कै अर्को खेलमा स्विट्जरल्यान्डले घरेलु टोली न्युजिल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । आजको बराबरीसँगै स्विट्जरल्यान्ड ३ खेलमा ५ अङ्कका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । आयोजक तथा घरेलु टोली न्युजिल्यान्ड बाहिरिएको छ । नर्वे र न्युजिल्यान्डकाे समान ४ अङ्क भए पनि गोल अन्तरका आधारमा नर्वे अन्तिम १६ मा पुग्यो ।

आजै अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको समूह ‘एच’ को खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोलले हराएको छ । जितसँगै दुई खेलमा तीन अङ्कसहित मोरक्को तेस्रो स्थानमा पुगेको छ । दुवै खेल हारेको दक्षिण कोरिया पुछारमा छ ।

अर्को खेल समूह ‘एच’ का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे हुनेछ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।