काठमाडौं । सोमबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सोमबार एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राखेपछि सूचना टाँसेर स्थगित गरिएको थियो ।
एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ । एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार सूचना टाँसेर आज १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा बेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई दिएको थियो । सभामुखले एमालेलगायतका दलका संसदीय पदाधिकारीसँग संसद्को अवरोध खुलाउनेबारे छलफल गरे पनि सफल हुन सकेन । त्यसपछि सभामुख घिमिरेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए ।
एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरु अनुसन्धानमा तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन बनाएर अनुसन्धान गर्न डराएको बताएका छन् । उनले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिच्किचाइरहेको बताए । यस्तो अवस्थामा एमालेले कुनैपनि हालतमा संसद चल्न नदिने अडान राखे ।
एमाले नेता गोकुल बाँस्कोटाले समिति गठन नभए आजको बैठक पनि चल्न नदिने बताए । उनले संसदको अवरोध हट्ने–नहट्ने सरकारको हातमा रहेको बताए । माओवादीका सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने भन्दै सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले एमाले र माओवादी केन्द्रको अडानले संसदको उपेक्षा भएको र यसको प्रभावकारीतामै प्रश्न उठेको धारणा राखे ।
नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनु पर्नेमा जोड दिँदै सुन तस्करीको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्नेमा जोड दिएका छन् । उनले मुल माफियाको नाइके पत्ता लगाउन सरकारमाथि आफूहरुले पनि दबाब दिने बताए ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्करीले स्थान पाएको भन्दै सेटिङ बिग्रिएर सुन समातियो भन्ने आशंका रहेको दाबी गरे ।
सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा पनि छानबिन समिति गठन नभएसम्म संसदको अवरोध कायम राख्ने अडान लिएका थिए ।
ओलीले सरकारको मिलेमतोमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको बताउँदै आएका छन् । गत साउन २ विमानस्थल बाहिरबाट एक सय किलो सुन बरामद भएपछि हालसम्म १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया