काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान सुरु गरेको छ । अभियान अन्तर्गत पहिलो दिन बुधबार सर्वसाधारणलाई डेंगु रोगका विषयमा माइकिङमार्फत जानकारी दिने, पानी जमेको स्थानमा लार्भा नष्ट गर्ने, सरसफाइ गर्ने, सफा गरिएका स्थानमा चुना छर्किनेलगायतका काम भएको महानगरले जनाएको छ ।
काठमाडौंको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोवीचौर, तननी, टङ्गाल, भेडासिंह, मच्छिन्द्रबहाल, भैरवस्थान, कालोपुल, कंकेश्वरी, इनाटोल, लाजिम्पाट, भृकुटीमण्डप, इटुम्बहाल, इन्द्रचोक लगायतका क्षेत्रमा अभियान सञ्चालन गरिएको बताइएको छ ।
अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरु पनि सहभागी रहेको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।
डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन महानगरले हटलाइन सेवा ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।
महानगरका अनुसार अस्पताल जानु परे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । डेंगु रोगका बिरामीका लागि सिटामोल, जीवन जल लगायत आवश्यक औषधिहरु स्वास्थ्य प्रवर्धन केन्द्रमा उपलब्ध गराउने काम भइसकेको महानगरको भनाइ छ ।
प्रतिक्रिया