सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ



धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकेर सरकार विस्तार गरेका हुन् ।

दुबै मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाए ।

कैलालीबाट जितेका नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उनलाई मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ खुवाए ।

असार ५ गतेदेखि रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि बैतडी (२) बाट जितेका कांग्रेसका शिवराज भट्टलाई नियुक्त गरिएको छ । कांग्रेसबाटै आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका बझाङका पृथ्बी बहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय रिक्त थियो । गठन भएको ६ महिनापछि सरकारले पूर्णता पाएसँगै प्रदेश सरकार अब खटिएर जनभावना अनुसार काम गर्ने मुख्यमन्त्री शाहले बताए ।

लामो समयदेखि सरकारमा नजाने अडान राख्दै आएको नागरिक उन्मुक्तिसँग मंगलबार गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेका थिए । उन्मुक्तिलाई दुई वटा विषयगत समितिको सभापति पनि दिने सहमति भएपछि सरकारमा जान तयार भएको हो ।