भाटभटेनी सुपरमार्केट र मीनबहादुरको नियति

भाटभटेनी सुपरमार्केट र मीनबहादुरको नियति



भाटभटेनी सुपरमार्केटजस्तो सफल व्यवसायको संचालक मीनबहादुर ललिता निवास जग्गा प्रकरणमा मुछिनु राम्रो कुरा होइन । यो विषयले अदालतमा प्रवेश गरिसकेको हुनाले उनी कसुरदार हुन वा होइनन् भन्ने कुरा अदालतले छिनोफानो गर्ने नै छ । तर पनि भाटभटेनी र मीनबहादुरको केही कुराहरू उजागर गर्न भने आवश्यक छ । करिब एक दशक अघि रविन्द्र घिमिरेसँग नेपाल टेलिभिजनमा उनको अन्तरवार्ता मैले हेरेको थिएँ। त्यसमा उनले भनेका दुईवटा कुरा मलाई निकै घत परेको थियो । त्यो अन्तरवार्तामा उनले आफ्नो भावी योजना सुनाउँदै देशका सवै मुख्य शहरमा भाटभटेनीको स्टोर खोल्ने लक्ष्य रहेको बताएका थिए । जसमा उनि सफल पनि भएका छन्।

दोस्रो थियो, कृषक र उपभोक्तालाई सिधै जोड्ने Farmers to Family योजना । यो बिचार भने मलाई निकै मन परेको थियो । कृषक र उपभोक्तालाई सिधै जोड्ने आफ्नो योजनालाई थप प्रष्टयाउँदै उनले भनेका थिए, ‘शहरको मुख्य-मुख्य चोकमा पसल खोलेर त्यसमार्फत सिधै कृषक र उपभोक्तालाई जोड्ने भित्री इच्छा छ । यसबाट कृषक र उपभोक्ता दुवै लाभान्वित हुनेछन् । वर्तमान बजार प्रणालीबाट साना किसान कहिल्यै माथि उठ्न सक्तैनन् । म पनि त्यही पृष्ठभूमिबाट माथि उठेको कृषक र व्यवसायी दुवै भएकोले कृषक र उपभोक्ताबीचको जालो च्यातेर साना किसानलाई माथि उठाउने मेरो लक्ष्य हो । म यसमा अत्यन्तै गम्भीर भएर लागेको छु । त्यसैको लागि पनि देशभर भाटभटेनी पुर्‍याउनु छ ।’

‘मेरो यो सपनालाई मूर्तरूप दिन सफल भएको दिन सायद म संसारकै भाग्यमानी व्यक्ति र सफल व्यवसायी भएको महसुस गर्नेछु ।’ उनको भनाइ थियो ।

‘साना किसान र आफ्नो दैनिकी चलाउन संघर्षरत सामान्य उपभोक्ता, दुवैको जीवनलाई मैले नजिकबाट नियालेको छु र आफैले व्यहोरेको पनि छु । त्यसैले बहुसंख्यक नेपालीको प्रतिनिधित्व गर्ने यो समुहको जीवन सहज तुल्याउनु मेरो लक्ष्य र दायित्व दुवै हो । त्यसको एक मात्र समाधान Farmers to Family नै हो । मेरो यो अभिष्ट पूरा भएपछि मेरो महत्वकांक्षा र अविचलित खटाइले पनि विश्राम लिनेछ’ उनको भनाइ थियो ।

मानिसहरुका तुक-बेतुकका ठू-ठूला कुराहरू सुन्नु त्यसैलाई मनमा गुन्नु र शव्दलाई समाचारमा उन्नु पनि मेरो दैनिकीभित्र पर्छ ।त्यसैले पनि व्यक्तिको भनाइ, गराइ र उनको ल्याकतको बारेमा आकंलन गर्न हामीलाई त्यति गाह्रो हुँदैन ।

अब करिव दश वर्ष अघि व्यक्त बिचार र यसबीच उनी र उनको सुपरमार्केटले गरेका कुराहरूलाई विश्लेषण गरौं । पहिलो उद्देश्यमा उनी धेरै हदसम्म सफल भएका छन् । उनको सुपरस्टोर साम्राज्य करिब करिब देशका मुख्य शहरहरुमा पुगेका छन् । केही महिना अघि भाटभटेनी छिर्दै गर्दा अन्य सामानभन्दा तरकारी किन्ने ग्राहकहरुको अप्रत्याशित भिड देखें, कारण रहेछ बाहिर बजारको भन्दा सस्तो तरकारी । त्यही लेखिएको रहेछ- ‘फार्मर्स टु फेमिली ।’

त्यतिबेला पनि मैले करिव दश वर्ष जति अघिको मीनबहादुरको अन्तरवार्ता सम्झेको थिएँ । त्यसयता अलि सस्तो तरकारी पाइने लोभले बानेश्वरको तरकारी बजार पुग्ने मेरो गन्तव्य फेरिएको छ । त्यतिबेला बाहिर बजारमा सय रुपैयाँ केजी मालदह आँपको मूल्य हुँदा भाटभटेनीले ६५ रुपियाँमा बिक्री गरिरहेको थियो । साइकलमा आँप बेच्ने व्यापारीसँग एक-दुई रुपैयाँ सस्तोमा आँप किन्न गर्नु पर्ने बार्गेनिङबाट मुक्ति दिएकोमा त्यतिबेला पनि मीनबहादुरलाई मनमनै धन्यवाद दिएको थिएँ ।

महाभूकम्पकपछि होस् या कोभिड महामारीपछिको कष्टपूर्ण समयमा, दैनिक उपभोग्य बस्तुमा भाटभटेनीले दिएको सहुलियतलाई राजधानीवासी ग्राहकले सायदै भुलेका होलान् । महाभूकम्प र कोरोना महामारीको प्रकोपबाट आहात भइरहेका बेला देशमा रहेका यतिका व्यापारिक घराना र प्रतिष्ठानबाट सर्वसाधारणले प्रत्यक्ष राहत अनुभव गर्ने गरी भाटभटेनीजस्तै दोस्रो व्यापारिक घराना अघि आएजस्तो मलाई लाग्दैन ।

सीमा नजिक भाटभटेनीको स्टोर खुल्दा सीमा क्षेत्रमा वर्षौदेखिको एकक्षत्र बजार र कारोबार प्रभावित भएको छ । भाटभटेनीको उपस्थितिले सीमा पारीको बजार र कारोबार खुम्चिएपछि सीमाक्षेत्रका कारोबारीदेखि लैनचौरसम्मको छटपटी पनि सुनिने गरेको छ।

केही महिनाअघि किनमेलको लागि नक्सालस्थित भाटभटेनी पुग्दा मीनबहादुरको भाइ पहल गुरुङसँग अप्रत्यासित भेट भएको थियो । उनलाई मैले महाभूकम्प र कोरोना महामारीको बेला हामीजस्ता सामान्य ग्राहकलाई भाटभटेनीले दिएको सहुलियतलाई लिएर धन्यवाद दिएको थिएँ ।

उनले त्यतिबेला सवै प्रदेश सरकारलाई पनि भाटभटेनीले आर्थिक सहयोगमा गरेको बताएका थिए । ‘भाटभटेनीको मुनाफा एउटा व्यापारिक घरानामा मात्र सीमित हुन नदिइ यसको मुनाफाबाट ग्राहक र आमजनता पनि लाभान्वित होउन् भन्ने हाम्रो सोच हो । यसलाई जनताको स्टोरमा रुपान्तरण गर्ने हाम्रो सोच हो । व्यवसाय गर्नलाई हामीसँग अरु विकल्प पनि छन् तर यसलाई भने जनताकै स्टोरमा रुपान्तर गर्ने हाम्रो सोच र भावी योजना हो । त्यही भएर देशका विभिन्न शहरमा रहेका स्टोरमा सामान पुर्‍याएर फर्केका हाम्रो गाडीहरुले किसानबाट सिधै तरकारी उठाएर उपत्यकाको स्टोरबाट बिक्री गर्न सुरु गरेका छौं । त्यही भएर तपाईंहरुले बजारभन्दा केही सस्तोमा सामान पाउनु भएको छ । यसलाई अझै व्यवस्थित गर्न बाँकी छ’ उनको भनाइ थियो ।

एकजना व्यवसायीको व्यवसायमा यतिबेला देशका ठूलादेखि साना ग्राहक प्रत्यक्ष जोडिसकेका छन् । अर्को अर्थमा भाटभटेनीलाई आफ्नो किनमेलको मुख्य गन्तव्य बनाउनेको संख्या शहरमा धेरै छ । नुनदेखि सुनसम्म एउटै छानामुनी उपलब्ध गराएर ग्राहकको समयको बचत र किनमेललाई सहज बनाएको छ । सामान्य नेपाली ग्राहकले आधुनिक जमानाको किनमेलको अनुभव गर्ने सहज अवसर पनि पाएका छन् । भाटभटेनी सम्वभत: नेपालमा खुलेका विभिन्न सुपरमार्केट मध्ये सवैभन्दा सफल र देशभर आफ्नो शाखा विस्तार गर्न सफल एक मात्र सुपरमार्केट हो । जसमा हजारौंले प्रत्यक्ष रोजगारी पाएका छन् । यसरी एकपछि अर्को गर्दै सफलताको सिढी उक्लिरहेका र धेरै ग्राहकको विश्वास जित्न सफल व्यवसायसँग जोडिएको व्यवसायी विवादमा पर्नु वा मुछिनु राम्रो होइन । यसबाट नेपालमा संचालित सफल व्यवसाय र व्यवसायीको बारेमा नकरात्मक सन्देश प्रवाह भइरहेको छ र अनेकौ प्रश्नहरू पनि उठिरहेका छन् ।

यदि मीनबहादुर दोषी नै हुन भने उसले उन्मुक्ति पाउने कुरा भएन तर बाहिर चलेका अनेकौ अफवाहजस्तै कुनै निहित उद्देश्य र स्वार्थवस् उनलाई फसाउने प्रपञ्च हो भने यसले नेपालको निजी क्षेत्र र उनिहरूको लगानीलाई निरुत्साहित तुल्याउने छ । नेपालमा लगानी र व्यवसायको सुरक्षामा प्रश्न उब्जने छ । देशमा लगानी भित्र्याएर रोजगारी सिर्जना गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने सरकारको नीतिलाई पनि सहयोग पुग्ने छैन भन्ने विभिन्न संघ संस्थाले जारी गरेका विज्ञप्तिमा उल्लेखित कुरालाई पनि पुष्टि गर्नेछ ।

मीनबहादुरमाथि अनुसन्धान चलिरहेको बेला मैले यो लेख लेखिरहँदा मानिसहरुलाई हाम्रो निकटतालाई लिएर पनि जिज्ञासा बढ्न सक्छ तर हामीबीच भाटभटेनीमा किनमेल गर्न जाँदा आक्कल झुक्कल उनीसँग देखभेट बाहेक अहिलेसम्म सायदै दोहोरो सम्वाद भएको होला । उनीसँग मेरो भाटभटेनी पुग्ने सामान्य ग्राहकबाहेक अरु कुनै सम्बन्ध छैन । उनले मलाई राम्रोसँग चिन्छन् जस्तो पनि लाग्दैन । मैले यो प्रष्टिकरण किन पनि दिदैछु भने मेरो लेखको आशय उनको पृष्ठपोषण गर्नु नभई एकजना सफल नेपाली व्यवसायीद्वारा व्यक्त सोच र उनले गरिरहेको कामप्रतिको आफ्नो धारणा मात्र हो ।

अदालतमा विचाराधीन मुद्दा र त्यसमा अदालतले तोकेको धरौटी बुझाएर तारेखमा बसेर न्यायालयको फैसला कुरिरहेको व्यक्तिमाथि सोही प्रकरणमा सरकारको अर्को निकायले पुन: पक्राउ गरी अनुसन्धान थालिएको विषयलाई लिएर बजारमा अनेक थरी चर्चा परिचर्चा चलिरहेका छन् । कसैले यसलाई सत्ताको खेलसँग जोडेका छन् भने कसैले भाटभटेनी तराईका शहरमा भएको प्रवेशलाई लिएर पनि चर्चा गरिरहेका छन् । सीमा नजिक भाटभटेनीको स्टोर खुल्दा सीमा क्षेत्रमा वर्षोदेखिको एकक्षत्र बजार र कारोबार प्रभावित भएको छ । भाटभटेनीको उपस्थितिले सीमा पारीको बजार र कारोबार खुम्चिएपछि सीमाक्षेत्रका कारोबरीदेखि लैनचौरसम्मको छटपटी पनि सुनिने गरेको छ। सीमा पारी पुग्ने नेपाली ग्राहक वारी नै रोकिएपछि नेपाली ग्राहकहरुमा आश्रित सीमा क्षेत्रका भारतीय बजार संकटमा पर्नु अस्वाभाविक होइन ।

अझ भाटभटेनीबाट बिक्री हुने मालसामानमा ठूलो हिस्सा चिनियाँ हुनु पनि छटपटीको अर्को कारण भएको बताइँदैछ । यस विषयमा जसले जसरी विश्लेषण गरे पनि यो विषयले न्यायालयमा प्रवेश गरिसकेको हुनाले न्यायालयले कसुरदार ठहर गरेबाहेक एकजना सफल व्यवसायीलाई हतोत्साही बनाउने काम सही नभएको निजी क्षेत्रका व्यवसायीहरुले बताइरहेका छन् । देशको एकजना सफल व्यवसायीले व्यहोरिरहेको अहिलेको अवस्था समग्र निजी क्षेत्रको लागि पनि सुखद् कुरा होइन ।

स्वदेशमै उद्यम गरेर हजारौंलाई प्रत्यक्ष रोजगारी दिइरहेको व्यापारिक प्रतिष्ठान धरासायी बन्ने अवस्था सिर्जना हुन दिनु हुँदैन। स्वदेशमा लगानीको उपयुक्त वातावरण नपाई उद्योगी, व्यवसायी र पूँजी पलायन हुने अवस्था बन्यो भने त्यसले अन्तत: क्षति पुग्ने देशलाई नै हो ।