काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् । प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा बुधवार पहिलोपटक प्रेसमिट गर्दै उनले दोषी प्रमाणित भए कसैलाई पनि नछाड्ने स्पष्ट पारेका हुन् ।
‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर भनिसक्नुभएको छ । यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ’,उनले भने ।
उनले पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पनि निष्पक्ष छानबिनको माग गरेको बताए ।
“पदाधिकारीको बैठकमा कृष्णबहादुर महराले निष्पक्ष छानबिन होस् भन्नुभएको छ । बाहिर आएजस्तो होइन, केन्द्रीय सदस्यले जो परे नि निष्पक्ष गर्नुपर्छ भन्नुभएको छ । जोसम्म तथ्य र प्रमाणले पुग्छ, कारबाही हुन्छ,” उनले भने ।
उनले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउने कुरामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दृढ भएको पनि बताए ।
प्रतिक्रिया