त्रिवि सेवा आयोग अध्यक्षमा घनश्याम भट्टराई नियुक्त

त्रिवि सेवा आयोग अध्यक्षमा घनश्याम भट्टराई नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका छन्।

त्रिवि इतिहास विभाग प्रमुख रहेका झापाका भट्टराईलाई कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन्।

गत साउन २३ गते बसेको अध्यक्ष सिफारिस समिति बैठकले साउन २६ भित्र सेवा आयोग अध्यक्ष पदमा इच्छुकहरूबाट आवेदन माग गरेको थियो। कम्तीमा सहप्राध्यापक पदमा रहेर काम गरेकाहरूले आवेदन दिन सक्ने व्यवस्था थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका सहकुलपति अशोककुमार राई नेतृत्वको सिफारिस समितिले सेवा आयोग अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरेकोमा भट्टराईलाई नियुक्त गरिएको हो।

उनलाई तीन वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो। बुधबार पदबहाली गर्ने कार्यक्रम रहेको छ । २०४४ सालमा उनी त्रिवि सेवामा प्रवेश गरेका थिए भने एक वर्षदेखि त्रिवि इतिहास केन्द्रीय विभाग प्रमुख थिए।

आयोगका अध्यक्ष एक वर्षसम्म रिक्त हुँदा त्रिविमा आवश्यक जनशक्ति छनौट तथा नियुक्ति हुन सकेको थिएन। अध्यक्ष पदका लागि गत वर्ष पनि आवेदन माग गरिएको थियो। त्यसबेला ३८ जनाले आवेदन दिएका थिए। तर कसैलाई पनि नियुक्ति दिइएको थिएन । तत्कालीन अध्यक्ष लालुप्रसाद पौडेलको कार्यकाल २०७९ साउन १८ मा नै सकिएको थियो।