‘त्रिलोचन उपाध्याय पोखरेल’ लोकार्पण

‘त्रिलोचन उपाध्याय पोखरेल’ लोकार्पण


ग्लोब नेपाल
756
Shares

काठमाडौं । नेपाल एकीकरणका बेला महत्वपूर्ण योगदान पुर्‍याएका पोखरेल वंशका गौरव ‘त्रिलोचन उपाध्याय पोखरेल’ पुस्तक बुधबार लोकार्पण गरियो । योगदान र व्यक्तित्व झल्किएको उक्त पुस्तक इतिहासविद् दिनेशराज पन्त र सूर्यबहादुर सेन ओलीले संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

त्रिलोचन उपाध्याय (पोखरेल) अनुसन्धान प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक प्रा.डा. कर्णबहादुर बानियाँले लेखेका हुन् । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष द्रोण पोखरेलले त्रिलोचन आदिपुरुष काशिदासका २८ औं पुस्ता भएको जानकारी दिए । नेपाल एकीकरणमा पोखरेल वंशका गौरव त्रिलोचन उपाध्यायले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । इतिहाससँग जोडिएको घटना भएकाले भदौ १३ मा नै कार्यक्रम आयोजना गर्नुपरेको उनले बताए ।

कार्यक्रममा लेखक बानियाँलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । इतिहासका प्राध्यापक बानियाँले ४ वर्षको अथक प्रयासपछि पुस्तक तयार भएको बताए । सन्दर्भ सामाग्री अध्ययन गरेर तयार भएको र पुस्तकमा मूल पत्ता नलागेकाले गौरवगाथा सुनाउन एउटा सन्दर्भ सामग्री हुने उनको भनाइ थियो ।

(नेपालको एकीकरण अभियानमा कुनै एक व्यक्ति वा जातिको मात्र योगदान थिएन । त्यस पुनित कार्यमा नेपालका विभिन्न जाति र समुदायका मानिसहरुले महत्वपूर्ण योगदान दिएका थिए । नेपाल राष्ट्र निर्माणको त्यस पुनित कार्यमा योगदान दिने विभिन्न जाति र थरका मानिसहरुको पंक्तिमा पोखरेल थरका मानिसहरुको नाम पनि अंकित छ । नेपालको एकीकरणको पूर्वी अभियानमा पोखरेलवंशका मानिसहरुमध्ये त्रिलोचन उपाध्याय (पोखरेल) ले खेलेको भूमिका अतुलनीय छ । यद्यपि उनी प्रत्यक्ष रुपमा युद्धको मैदानमा उत्रिएका थिएनन् तापनि युद्धको तयारी, युद्ध परिचालन र एकीकरणको पक्षमा जनमत जुटाउने कार्यमा उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।पुस्तकांश)