नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा रनआउट

नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा रनआउट



काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।

२३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भएका हुन् । नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो । यससँगै पाकिस्तानले २३.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् । इमाम ५ रन बनाएर आउट भएका हुन् ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।