बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

बहराइनमाथि नेपालको १० विकेटको शानदार जित



काठमाडौं । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताकाे आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।

मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति २ दशमलब ५ ओभरमा पूरा गर्यो । नेपालको जितमा ओपनर कविता कुँवरले नट आउट १७ रन बनाइन् । अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन् । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो । बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिईन् । पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १/१ विकेट लिईन् ।

नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो ।