अमेरिकाले युक्रेनलाई डिप्लिटेड युरेनियम हतियार दिने

अमेरिकाले युक्रेनलाई डिप्लिटेड युरेनियम हतियार दिने



काठमाडौं । अमेरिकाले युक्रेनलाई पहिलोपटक डिप्लिटेड युरेनियम हतियार सहयोग गर्ने भएको छ । रोयटर्सका अनुसार अमेरिकी यो हतियारले रुसी ट्यांक ध्वस्त पार्न सहयोग मिल्नेछ ।

अमेरिकाले यही हप्ता डिप्लिटेड युरेनियम हतियार युक्रेनलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । यो हतियारलाई अब्राम्स ट्यांकबाट फायर गरिनेछ । अमेरिकाले युक्रेनलाई ३७५ मिलियन डलरको हतियार सहयोग गर्दै छ । यो सहयोग प्याकेजमा नयाँ हतियार समावेश हुनेछ ।

युरेनियम एक रेडियोएक्टिभ तत्त्व हो, जसलाई परमाणु बम बनाउन पनि प्रयोग गरिन्छ । युरेनियमबाट बनेको हतियारले पर्यावरणमा नकारात्मक असर गर्छ, जसकारण यो हतियार विवादित मानिन्छ । यस्ता हतियारले मानिसलाई क्यान्सर हुन्छ भने गर्भमा रहेका बच्चालाई असर पुग्छ ।

युरेनियमबाट बनेका हतियारलाई प्रतिबन्ध लगाउने संस्था इन्टरनेसनल कोलिसनका अनुसार डिप्लिटेड युरेनियम हतियारलाई परमाणु हतियारको श्रेणीमा राखिँदैन । अमेरिकाले युक्रेनलाई दिन लागेको डिप्लिटेड युरेनियम हतियारमा भने युरेनियमको मात्रा कम हुन्छ । यद्यपि, यसमा कमै भए पनि युरेनियमको हिस्सा भएकाले यो हतियार विवादित मानिन्छ ।