काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले सामाजिक सञ्जाल प्रयोगकर्तामा तरंग सिर्जना भयो । शनिबार राति उनले फेसबुकमा लेखे, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, ‘सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
सिंहदरबारमा आगो लगाउने र ‘चोर सरकार’ जस्ता शब्द चयन र आक्रोशपूर्ण अभिव्यक्तिको सामाजिक सञ्जालमा प्रयोगकर्ताले चर्को आलोचना गरिरहेका छन् । बिगतमा उनका हरेक अभिव्यक्तिमा समर्थन गर्नेहरु पनि यसपटक भने बालनेको अभिव्यक्तिको बिरोधमा उत्रिए । केहीले भने श्रीमतिको प्रशव पिडामा हस्पिटल जाँदै गर्दा भएको घटना भएकाले उनको आक्रोस स्वभाविक भएको प्रतिक्रिया दिए ।
बालेन पत्नी सविता काफ्ले प्रशव पिडामा रहेकोले महानगरको गाडीमा इमर्जेन्सी हस्पिटल लगिँदै थियो भन्ने हल्ला एकाएक चल्यो । तर, बास्तविकता त्यस्तो थिएन । बालेन शाहलाई एक साताअघि नै पुत्रिलाभ भएको खुलेको छ । आईभीएफ प्रविधिमार्फत् बालेन पत्नी सविना काफ्लेले ललितपुरको मेडिसिटी अस्पतालमा भदौ ८ गते शुक्रबार दुई छोरीलाई जन्म दिएकी हुन् । तर, जन्मपछि दुईमध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल निकट स्रोतले जनाएको छ । अर्को बच्चाको स्वास्थ्यमा केही समस्या भएपछि ललितपुरको मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतको भनाइ छ ।
मेडिसिटी अस्पताल स्रोतका अनुसार आमाको स्वास्थ्य ठिक रहेकाले भदौ ११ गते सोमबार सविनालाई डिस्चार्ज गरेको थियो। बच्चा अस्पतालमा रहेकाले सविनासहित बालेनको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ।
शनिबार राति करिब ८:५० बजेतिर सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारीतर्फबाट कोटेश्वर चोकतिर आएको देखेपछि चेकिङ गर्ने ड्युटीमा रहेका ट्राफिक प्रहरीले सो गाडीलाई रोकेर सोधपुछ गरेका थिए । त्यसपछि मेयरको गाडी हो, गाडीमा मेडम हुनुहुन्छ भनेपछि ट्राफिक प्रहरीले छाडिदिएका थिए । त्यसपछि गाडी गैरिगाउँतर्फ गएको थियो ।
‘नियमित चेकिङमा सरकारी गाडी आयो । कुन अफिसको हो ? बिदाको दिन कहाँबाट आउनुभयो ? भनेर ट्राफिकले सोध्यो, चालकले मेयर सापको हो, मेडम हुनुहुन्छ भनेपछि ल ठिक छ, पास बोकेर हिँड्नुस् है भनेर पठाइदिएको हो ।’ ड्युटीमा खटिएका प्रहरीले बताएका छन् ।
त्यसलगत्तै मेयर साहले ‘महानगरको गाडी चौबीसै घण्टा ड्युटीमा हुन्छ । किन रोकेको ?’ भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी आक्रोश पोखेका थिए । त्यसलगत्तै ९ बजेर २१ मिनेटमा मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति फेसबुकमा सार्वजनिक भएको थियो ।
सामाजिक संजालमा सर्वत्र बिरोध भइरहँदा पनि मेयर साहले त्यस्तो स्टाटस लेख्नुको कारण वा घटनाबारे केही जानकारी दिएका छैनन् । बरु उनको समर्थनमा हुने ‘रुटिङ अफ नेपाल बन्द’ नामको फेसबुक पेजबाट मेयर साह र पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएको भन्ने दम्पतिको पूरानो फोटो राखेको पोष्ट आयो । हिजोको अभिव्यक्ति श्रीमतिको प्रशव पिडामा आएको भन्ने देखाएर इमोशनल समर्थन जुटाउने बालेनको अस्त्र पनि काम लागेन । वास्तविकता बाहिरिसकेपछि ‘रुटिङ अफ नेपाल बन्द’ले स्टाटस एडिट गरेर केही दिन अगाडि पुत्री लाभ भएको बनाइसकेको छ ।
यतिबेला सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले उनी दम्भी भनेर आलोचना गरिरहेका छन् । कानूनभन्दा माथि कोही नरहेकोले संयमित बन्न आग्रह गरेका छन् ।
लेखक सरिता तिवारी लेख्छिन्, ‘जनप्रतिनिधि हुनु आफैंमा विवेक र शक्तिको परीक्षा हो नै ,उसको परिवार बन्नु पनि नैतिक घेरा बनाएर हिँड्ने कि तोड्ने भन्ने परीक्षा हो। अधिकांश जनप्रतिनिधि र तिनका परिवारले यस्ता कुरामा महत्व दिँदैनन्। कार्यालय प्रयोजनका लागि वा सम्बन्धित कार्यका लागि मेयरले चढ्ने गाडी परिवारले समेत चढ्न पाउनुपर्छ भन्ने, त्यही गाडी लिएर पारिवारिक प्रयोजनले हिँड्ने काम सत्ताको दुरुपयोग मात्रै होइन नैतिकताको विचलन पनि हो। बालेनले यो नबुझ्नु र गुण्डागर्दी शैलीको धम्की दिनुले जनप्रतिनिधिको रवाफ कुन स्तरको छ भन्ने देखाउँछ । उनको पोस्टले अधिकांश नगर प्रमुखको ‘म त राजा नै हुँ नि ! म राजा भएपछि मेरी श्रीमती स्वतः रानी र महारानी हुन् नि ! शैलीको रवाफको प्रतिनिधित्व गर्छ।’
बालेनले सामाजिक सञ्जालमार्फत् अराजक अभिव्यक्ति दिएको यो पहिलो पटक भने होइन । नेता तथा राजनीतिक दलप्रति उनले पटकपटक आक्रोशपूर्ण अभिव्यक्ति दिदै आएका छन् । अदालताको आदेश मान्दिनँ भन्ने अभिव्यक्ति दिएपछि अदालतको मानहानी मुद्दामा तारिक धाइरहेका छन् । विशेष गरेर रातिको समयमा स्टाटस लेख्ने मेयर साहलाई नशामा लेख्ने गरेको आरोप लाग्दै आएको छ ।
यतिबेला आमनेपालीमा असन्तुष्टि र निराशा छ । भ्रष्टाचार र आर्थिक अराजकताको पर्दा खुल्दै जाँदा राजनीतिक दल र नेताहरुप्रति मानिसको आक्रोसले सीमा नाघेको छ। सत्ता र शक्तिमा हुनेहरू आफ्नालाई बचाउन रक्षाकवच बनेका छन्। राजनीतिमा लाग्नु, सत्तामा हुनु र राज्यसंयन्त्रमा रहनु राज्यस्रोतको दोहन गर्ने ‘लाइसेन्स प्राप्त गर्नु हो’ भन्नेखालको भाष्य बन्न पुगेको छ।
देश यस्तो तरल अवस्थामा रहेको बेला ठूलो संख्यामा फलोअर्स रहेका सार्वजनिक व्यक्तित्वहरुले अराजक अभिव्यक्ति दिँदा ख्यालख्यालमै त्यसले विकराल रुप नलेला भन्न सक्ने अवस्था छैन । तसर्थ जिम्मेवार पदमा रहेका व्यक्तिहरुले संयमपूर्ण अभिव्यक्ति दिनु बुद्धिमानी हो ।
प्रतिक्रिया