नेपाल र भारतबीचको खेल हेर्न वीरगन्जमा विद्यालय बिदा

नेपाल र भारतबीचको खेल हेर्न वीरगन्जमा विद्यालय बिदा



वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नेपाल र भारतबीचको खेल हेर्नका लागि सोमबार दिउँसो २ बजेपछि विद्यालयहरु बन्द गर्ने भएको छ ।

एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीस्थित पल्लेके स्टेडियममा दिउँसो सवा ३ बजेदेखि सुरु हुँदैछ । खेल हेर्नकै लागि वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाले सूचना जारी गरी सामुदायिक र संस्थागत विद्यालयहरु सोमबार दिउँसो २ बजेपछि बन्द गर्ने निर्णय गरेको हो ।

उक्त खेल हेर्नका लागि मधेस प्रदेशकै जनकपुरधाम उपमहानगरपालिकाले पनि २ बजेपछि त्यहाँ रहेका सबै विद्यालयहरु बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

घरेलु टोली पाकिस्तानसँग पहिलो खेलमा पराजय बेहोरेको नेपाल भारतविरुद्ध जित निकाल्दै अघिल्लो चरणमा पुग्ने अभियानमा छ । वर्षाका कारण पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको आठ पटकको विजेता भारतलाई पनि सोमबारको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल र भारतको सिनियर टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको करिब तीन दशकपछि नेपालको सिनियर टोलीले पहिलो पटक भारतसँग खेल्ने अवसर पाएको हो ।