मीड सोलु हाइड्रोले कहिलेदेखि खुलाउँदै छ सर्वसाधारणका लागि आईपीओ ?

मीड सोलु हाइड्रोले कहिलेदेखि खुलाउँदै छ सर्वसाधारणका लागि आईपीओ ?



काठमाडौं । मीड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागेको हो ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म असोज १ गतेसम्म आइपीओमा आवेदन दिन सकिने जानकारी गराएको छ । 

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । 

कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित विद्यतु उत्पादन गर्दै आएको जानकारी गराएको छ । आयोजनाको कुल अनुमानित २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ । यसको प्रतिमेगावाट लागत २१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।