नेपाल र म्यानमारबीचकाे मैत्रीपूर्ण फुटबल बराबरीमा रोकियो

नेपाल र म्यानमारबीचकाे मैत्रीपूर्ण फुटबल बराबरीमा रोकियो



काठमाडौं । पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ ।

फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।

पेनाल्टी बक्स भित्र म्यानमारका डिफेन्डरले बल रोक्दा ह्यान्ड बल भए पछि नेपालले पेनाल्टीको मौका पाएको थियो । पहिलो हाफमा दुवै टिमले केही मौका बनाए पनि दुवै टिमले गोल गर्न सकेका थिएनन् ।

फिफा वरीयतामा आफूभन्दा १५ स्थान माथिको म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो ।

नेपाल फिफा वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १६० औं स्थानमा छ ।

पेनाल्टीमा गोल गर्न चुकेका अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा हरि खड्का र निराजन रायमाझीसँग बराबरी गर्ने अवसरसमेत गुमाए ।

हरि र निराजन दुवैले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अञ्जनले हालसम्म नेपालका लागि १२ गोल गरेका छन् ।

नेपालले म्यानमारसँग फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते सोमबार हुनेछ ।