बैंकहरूले अझै पनि गरिबलाई ऋण दिएका छैनन् : ओली

बैंकहरूले अझै पनि गरिबलाई ऋण दिएका छैनन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आज आइतवार च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ठूला पुँजीपतिहरूलाई खोजेर अर्बाैँ लगानी गर्ने बैंकहरूले गरिबलाई भने अझै पनि ऋण नदिएको बताएका हुन् । उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालनजस्ता व्यवसायका लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको बताए ।

ओलीले गरिबलाई पनि बैंकहरूले कुनै व्यवसाय गर्नका लागि ‘सिड मनी’ को रूपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरूसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उनकाे भनाइ छ ।

उनले भने, ‘बैंकहरूले ठूलाठूला पुँजीपति खोजेर लगानी गर्छ, साँच्चै जसलाई ऋण चाहिएको छ उसकहाँ बैंकको ऋण पुग्दै पुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । तर गरिबकाेमा पनि पुग्नुपर्छ ।’

अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्त्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए ।