एन्फामा अध्यक्ष र महासचिवविरुद्ध मोर्चाबन्दी : अविश्वासकाे प्रस्ताव दर्ता

एन्फामा अध्यक्ष र महासचिवविरुद्ध मोर्चाबन्दी : अविश्वासकाे प्रस्ताव दर्ता



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको माग गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । एन्फामा ८६ जना सदस्य रहेकोमा ४९ जना सदस्यले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गराएका छन् । एन्फा विधानको धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यहरुको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउन पेश गरिएको अध्यक्षलाई सम्बेधन गरिएको निवेदनमा उल्लेख छ । कुल सदस्यको ४० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने र दुई तिहाइ बहुमतले अविश्वासको प्रस्ताव पारित गर्नुपर्ने हुन्छ ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः बर्खास्तीमा परेको असन्तुष्ट पक्षको दाबी छ । विभिन्न १९ बुँदे आरोप लगाउँदै उनीहरुले अहिलेकै अवस्था रहेमा नेपाली फुटबल समाप्त हुने चिन्ताका कारण अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका छन् ।

महिला लिग सञ्चालन गर्न नसकेको, जिल्लामा अनुदान दिन नसकेको र प्रतियोगिता पनि गर्न नसकेको, फिफाबाट पूर्वाधारका लागि प्राप्त अनुदानलाई प्रतियोगिताहरु आयोजनाका लागि रकमान्तर गरेको, खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न नसकेको, नेपाली फुटबललाई धरासयी बनाएको लगायत आरोप उनीहरुमाथि छ।

अविश्वासको प्रस्ताव दर्ता भएकै कारण आज साेमवारका लागि तोकिएको साधारणसभा अनिश्चित बनेको छ ।