काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘ब्रेक सु’ लगायतका माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको दाबी गरेको छ । यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।
सीआईबीले पत्रकार सम्मेलनपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दै छ ।
सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गर्ने भएको छ ।
उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।
यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् ।
पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन् । फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन् ।
फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन्। अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ। यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ।
सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिएको हो ।
प्रतिक्रिया