काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले संघीय सरकारले विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शाहले संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गर्नुका साटो विद्यालय शिक्षा विधेयक ल्याएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन’ उनले लेखेका छन् ।
स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराए ।
यतिभन्दा पनि शिक्षकहरूले विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । उनले यस्तो अवरोध गरेको खण्डमा कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।
काठमाडौं महानगरमा २ लाख ५० हजार विद्यार्थी तथा १० हजारभन्दा बढी शिक्षक रहेको बताएका छन् । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको उनले बताए । काठमाडौंकाे शिक्षा नीति र जुम्लाको शिक्षा नीति र आवश्यकता फरक फरक हुने उनको भनाई छ ।
यसअघि पनि काठमाडौं महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने सम्मको चेतावनी दिएको थियो ।
प्रतिक्रिया