काठमाडौं । आन्दोलनरत शिक्षकहरूले शुक्रबार पनि काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सार्दै ३ असोजदेखि काठमाडौंमा आन्दोलनमा हाेमिएकाे हाे ।
माइतीघरमण्डलमा जम्मा भएर शिक्षकहरुले नयाँबानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकाे क्रममा केही शिक्षकहरु गीत गाएर नाचगान गरिरहेका देखिन्छन् । केही सडक पेटी र बंगैचामा सुस्ताइरहेका र केही सेल्फी खिच्न व्यस्त छन् भने केही सामूहिक छलफल गरिरहेका देखिन्छन् ।
आन्दोलनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान दुई चरणमा मन्त्रीहरुसँग छलफल गरेका थिए ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।
बिहीबारदेखि २७ हजार सामुदायिक विद्यालयका साढे ५३ लाख विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । शिक्षकहरुले स्थानीय तह मातहत बस्न अस्वीकार गर्दै पेशागत हकहित, सुरक्षा र सम्मानका माग अघि सारेका छन् ।
प्रतिक्रिया