काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।
बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका हुन् । सरकार र शिक्षक महासंघबीच ७ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
यसैबीच, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारसँगको वार्तामा राहत शिक्षकका प्रतिनिधि पनि सहभागी भएर सहमति गरेको बताएका छन् ।
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच दुई दिनअघि सहमति भएको थियो । महासंघको नेतृत्वमा भएको आन्दोलन सम्वद्ध शिक्षक संगठनका सबैप्रतिनिधि सहभागी भएर सहमति बनेको उपसभापति खड्काले दाबी गरे ।
सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नगरेपछि आन्दोलन जारी राखेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने आफूहरूको माग रहेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया