माइतीघरमा प्रदर्शनरत चिकित्सक र प्रहरीबीच धकेलाधकेल

माइतीघरमा प्रदर्शनरत चिकित्सक र प्रहरीबीच धकेलाधकेल



काठमाडौं । माइतीघरमा प्रदर्शनरत चिकित्सक र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उनीहरुबीच धकेलाधकेल भएको हो ।

चिकित्सकहरुले ‘कुटाइ खाने कहिलेसम्म’‚ ‘डाक्टर कुट्न पाइँदैन’‚ ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’, पेशा छोडौं कि देश छोडौं ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पनि हेटौंडालगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरेका छन् ।

चिकित्सकहरूले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।

बिरामीका आफन्त नाराबाजीमा उत्रिँदा केहीबेर अस्पताल तनावग्रस्त भएको थियो । प्रहरीले कुटपिट गर्नेको पहिचान नभइसकेको बताए पनि कुटपिटको आरोपमा पोखरा–५ का विनय गुरुङलाई नियन्त्रणमा लिएको छ ।