काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता जारी

काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता जारी



काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीच वार्ता जारी छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता भइरहेकाे हाे । वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अभियन्ता ईः दुवै बसेका छैनन् ।

दुवैतर्फका प्रतिनिधि वार्तामा सहभागी भएका छन् । आठ दिनदेखि काठमाडौं महानगरपालिकाको गेटमा उभिइरहेका ईःको पक्षमा समर्थन बढ्दै गएपछि महानगर वार्ताको लागि तयार भएको हो ।

यसअघि मंगलबार नै उपमेयर सुनीता डंगोलले अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् ।

वार्तामा अधिवक्ताद्वय सन्जय अधिकारी र प्रज्वला कार्की तथा फुटपाथ व्यापारीहरुका तर्फबाट सुजन गिरी, विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण सहरी पुर्वाधार विज्ञ राज महर्जन पहिलो चरणको वार्तामा गएको अभियन्ता ई: ले जानकारी दिएका छन् ।

महानगरका तर्फबाट दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलगायत रहेका छन् ।

ईः आफू स्वयं पनि वार्तामा जाने तयारीमा थिए । तर, महानगरबाट मेयर शाह नआउने भएपछि उनले आफू नगई टोलीलाई छलफलमा पठाउने निर्णय गरेका हुन् ।

आफू यो विषयकाे विशेषज्ञ नभएकाेले वार्तामा विज्ञहरुलाई पठाएको ईःले बताएका छन् । आफूले कुराको उठान गर्न सक्ने तर कानुनी आधार वा विश्वका विभिन्न ठाउँमा भएको सडक व्यवसायको बारेमा डेटा र त्यो बारेमा जानकारी नभएका कारण वार्तामा विज्ञहरुलाई पठाएको उनकाे भनाई छ ।