नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा



हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ ।

आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई छन् ।

आजको प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए । जसमा हङकङ शीर्ष स्थानमा रहदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पारेकाे हाे ।

आजै भएको प्रतिस्पर्धामा समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् । नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगे ।

अब चार समूहबाट आएका शीर्ष दुई-दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ । सेमिफाइनलका दुवै समूहमा चार-चार टिम हुनेछन् । चार-चार टिम मध्ये समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् । फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टिमले मेडल पाउनेछन् ।

अब नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ । पर्सी हुने फाइनलमा शीर्ष तीन पर्न सके नेपालले एसियाली खेलकुदमा पदक जित्नेछ ।