अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ



काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पक्राउ गरेको हो ।

उनी चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीका छोरा हुन् । ‘रावायण’ नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएकाे छ ।

उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानको लागि केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । केसी मिनभवनस्थित अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा छन् ।

फिल्म निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको बुझिएको छ । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।