कोरोना खोप अनुसन्धान गर्ने अमेरिकी दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

कोरोना खोप अनुसन्धान गर्ने अमेरिकी दुई वैज्ञानिकलाई नोबेल पुरस्कार



काठमाडौं । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकलाई प्रदान गरिएको छ । नोबल पुरस्कार समितिले कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वाइसमानलाई संयुक्त रूपमा यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिने घोषणा गरेको हो ।

सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छिन् ।

यस्तै १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन् ।

कोरोना महामारीका कारण विश्वमा झण्डै ७० लाख बढी मानिसहरूको मृत्यु भएको थियो । वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए, जसमामध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो ।

सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अन्य रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ ।

कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको समेत नोबेल कमिटीले जनाएको छ । ‘आधुनिक समयमा मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो संकटका दौरान पुरस्कार विजेताले अभूतपूर्व रूपमा खोप विकासमा योगदान दिएका छन्,’ नोबेल पुरस्कार कमिटीले भनेको छ । कोरोना महामारीका बेला मोडर्ना, फाइजर/बायोएनटेकलगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए ।

सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर(१० लाख अमेरिकी डलर) दिइनेछ ।