सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ

सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ



काठमाडौं । दोलखामा बरामद भएकाे ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन् ।

उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । यसअघि प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् ।

यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेकाे छ ।

पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो र अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका हुन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय, दोलखाबाट अनुसन्धान भइरहे पनि यसमा संगठित अपराधको कसुर पनि आकर्षित हुने भएकाले सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।