बझाङमा आधा घन्टामा २ भूकम्प, दुई जना घाइते, पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङमा आधा घन्टामा २ भूकम्प, दुई जना घाइते, पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

दर्जनौँ घर भत्किएको अनुमान



धनगढी । सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङ सदरमुकाम चैनपुरआसपास केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

बझाङमा भूकम्पमा परी दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका-१० का दुई जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको छ ।

भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षति भएको र जिल्लाभर अरु ठाउँमा पनि थुप्रै क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । अहिलेसम्म मानवीय क्षतिको जानकारी छैन । तर थुप्रै संरचना भत्किएको अनुमान छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

ठूलो भूकम्पपछि पनि लगातार परकम्पहरू गइरहेको हुनाले खुला ठाँउमा सुरक्षित भएर बस्न र सावधानी अपनाउन पर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।