बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ७ वटा भूकम्प

बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ७ वटा भूकम्प

भूकम्पबाट सदरमुकाम चैनपुरमा मात्रै २० घर भत्कियो



धनगढी । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ७ वटा भूकम्प गएको छ ।

सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो ।

‘३ बजेर ६ मिनेटको मेनसकपछि ४ रेक्टरमाथिका ३-४ वटा परकम्प गएका छन्,’ केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाले भने, ‘४ रेक्टरभन्दा कमका त थुप्रै परकम्प गएका छन् ।’

केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको तथा बेलुकी ५ बजेर १९ मिनेट र ५ बजेर ३८ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।

भूकम्पबाट सदरमुकाम चैनपुरमा मात्रै २० घर भत्कियो

सदरमुकाम चैनपुरमा मात्रै २० घरमा क्षति पुगेको छ । स्थानीय प्रशासनका अनुसार मानवीय क्षति नभए पनि २० घर भत्किएका छन् ।

बझाङमा १२ वटै पालिकामा पुराना तथा कच्ची घर र केही विद्यालयमा समेत क्षति पुगेको छ । भूकम्पबाट त्रसित स्थानीहरू सडक र खुला चौरमा बसेका छन् । भूकम्पका कारण विद्युत अवरोध भएको छ भने राजमार्गमासमेत पहिरो गएको प्रहरीले जनाएको छ ।

टिमुर टिप्न लेक गएका मनमती धामी पहिरोमा परेर बेपत्ता भएको स्थानीयहरूले प्रहरीलाई खबर गरेका छन् ।

त्यस्तै जयपृथ्वी नगरपालिकाको जालपा मावि र सत्यवादी माविका ५ जना विद्यार्थी घाइते भई जिल्ला अस्पतालमा भर्ना भएका छन् । भूकम्पका कारण स्कुलमा भागदौड मच्चिएको थियो ।

त्यस्तै बझाङ जिल्ला अस्पतालमा भूकम्पको त्रासले सुत्केरीलाई बाहिर प्रांगणमा ल्याएर सुत्केरी गराइएको छ भने जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा काम गरिरहेका २ जना श्रमिक गम्भीर घाइते भएका छन् । पराकम्पन आउने क्रम जारी छ ।