सरकारसँग सर्वोच्चले माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण

सरकारसँग सर्वोच्चले माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण



काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ ।

बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ ।

सर्वोच्च अदालतले यो रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।

रिगललाई संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए ।

उनी सजाय माफी पाएर छुटेको थाहा पाएपछि मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट हालेकी थिइन् ।

रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतनको हत्या गरेका थिए । हत्या अभियोगमा जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।