काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूमा आमाले झैँ शिक्षा दिने भावना आउने कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० काे सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खतिवडाले सकारात्मक भावना भएको शिक्षक र विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने– ‘राम्रो शिक्षा दिन सकिएन भने त्यसले केही अर्थ दिँदैन । विद्यालयभन्दा पहिलो पाठशाला घर नै हो, आमा नै हो भन्ने जुन भावना थियो, त्यो भावना गुरुहरूले आमाको काखमा हुर्किएको जस्तै, आमाले माया गरेर सिकाएकाे जस्तै गरि शिक्षा दिने भावना सबैलाई अनुभूति होस् ।’
सधैँ अर्काकाे बारेमा नकारात्मक साेच राख्ने बानि विकास गर्न नहुने भन्दै उनले विद्यार्थीमा सकारात्मक साेच विचारकाे विकास गर्नुपर्ने बताए ।
५२ वर्षपछि शिक्षा विधेयककाे बारेमा छलफल गरेकाे भन्दै उनले पिछडिएकाे वर्गलाई सुविधा हुनेगरि कानुन बनाउनु पर्ने बताए । उनले राहत शिक्षक, अस्थाई शिक्षक, बाल शिक्षक र साविक उच्च माविकाे शिक्षकहरु पेन्सनबाट वञ्चित भएकाे विषायमा दफावार छलफल गर्नुपर्नेमा जाेड दिए ।
२०७४ साल चैत २८ गतेपछि नियुक्त भएका शिक्षकहरूलाई पेन्सनबाट वञ्चित गरिने कुरा उल्लेख भएको बताउँदै खतिवडाले अघिल्लो दिन चैत २७ गते नियुक्त भएको शिक्षकले पेन्सन पाउने तर भोलिपल्ट नियुक्त भएकोले नपाउने स्थिति पनि उपयुक्त नहुने बताए । उनले यसबारे समितिमा गम्भीर ढङ्गले दफावार छलफल गर्न जरुरी रहेकाे बताए ।
शिक्षा क्षेत्रमा बाहुबलको प्रयोग गर्न नहुने बताउँदै उनले बीपी कोइरालाले भनेझैँ विचार, सिद्धान्त र ज्ञानको भण्डारको रूपमा हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया