रामपुर । रामपुरका स्थानीय युवाको अग्रसरतामा श्रमदानबाट थानी ढुंगा पदमार्गको निर्माण सुरु भएको छ । रामपुरटार सिरानबाट थानी ढुंगा र त्यहाँबाट दाहालहरुको कुलपूजा स्थान हुँदै अर्को डाँडा ढुस्केसम्म पदमार्ग निर्माण गर्न युवाहरु जुटेका हुन् ।
रामपुरटारबाट उत्तरतर्फ रहेको डाँडामा एक ऐतिहासिक विशाल ढुंगा रहेको छ । त्यो ढुंगालाई थानी ढुंगा भनिएको र त्यसैको नामबाट डाँडाको नाम समेत थानडाँडा राखिएको छ । त्यही नाम अपभ्रशं भएर स्थानीयहरुले त्यसलाई थान ढुंगासमेत भन्ने गरेका छन् । त्यहाँबाट किराँत राजाहरुले त्यस क्षेत्रमा शासन गरेको किमंबदन्ती रहेको छ । त्यसैले त्यहाँ किराँत शासनको प्रथम राजा एलम्बरको शालिक र किरातेश्वर मन्दिर निर्माण गर्ने योजना रहेको समेत स्थानीय युवाहरुको भनाइ छ ।
थानी ढुंगा मुनी सुरुङ रहेको छ । त्यहाँ झाँक्रीहरुको बसोबास रहेको थियो । बेलाबेला झाँक्रीहरु ढोलक बजाउँदै त्योभन्दा तल रहेको ओढारे भन्ने ठाउँमा निस्किन्थे भन्ने भनाइ छ । त्यसैले यसलाई झाँक्री ओडरको नामले पनि चिनिन्छ । ८०–९० वर्ष अगाडिसम्म झाँक्रीहरु बसोबास गरेको देख्ने स्थानीयहरु अझै जीवित रहेका छन् ।
यस ढुंगाको ऐतिहासिक महत्वको खोज र आन्तरिक तथा बाह्य पर्यटन प्रद्धर्वदनका लागि त्यहाँसम्म सजिलै पुग्न पदमार्गको निर्माण गर्न लागिएको स्थानीय युवा बताउँछन् । मोलुङ गाउँपलिकाले आफ्नो नीति तथा कार्यक्रममा पटकपटक रामपुर सिरानदेखि सिँढी तथा गोरेटो बाटो निर्माण गरेर थानी ढुंगा हुँदै ढुस्के भन्ज्याङसम्म पुर्याउने योजना ल्याए पनि अहिलेसम्म कार्यान्वयन भने भएको छैन ।
ओखलढुंगा सदरमुकामबाट पश्चिमतिर २५ किलोमिटर मोटर बाटोको दूरीमा रहेको रामपुरटार नेपालमा रहेका टारहरु मध्ये एक सुन्दर टार हो । आन्तरिक तथा बाह्य पर्यटकको लागि पहिलो दिन गाउँको अवलोकन, सहिद पार्क, बोलढुंगा, गुरुपार्क हुँदै थानी ढुंगासम्म यात्रा गराउन सकिन्छ । दोस्रो दिन अर्को वडामा रहेको पर्यटकीय स्थलको रुपमा परिचित सेप्ली झरनाको अवलोकन गराउन सकिन्छ । नेपालकै अग्लो झरनाहरु मध्ये पर्ने सेप्ली झरना र बनझाँक्रीका गुफाहरुको अवलोकनले पर्यटकलाई रोमान्चकता दिन्छ ।
रामपुर बजारमा पर्यटकको लागि बस्नको राम्रो व्यवस्था रहेको छ । यो बजार विकास हुने क्रममा रहेकाले आगामी दिनमा सडक मार्गबाट सोलुखुम्बुको नाम्चे, सगरमाथा वेसक्याम्प जाने पर्यटकले ओखलढुंगा सदरमुकामबाट पैतालिस मिनेटको यात्रामा रामपुर पुगेर दुई दिनको बसाईलाई रोमान्चक बनाउन सक्छन् । प्रचार प्रसार र पर्यटन प्रर्वद्धन गर्न सके थानी ढुंगामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने देखिन्छ ।
प्रतिक्रिया