काठमाडौं । विद्यालय शिक्षा विधेयक-२०८० विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सांसदहरूले विधेयकमाथि सैद्धान्तिक छलफलमा उठाएका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आइतबार जवाफ दिएका थिए ।
मन्त्री राईले विधेयक स्वीकृत गरेर दफावार छलफल गरी छिटो पारित गर्ने दिशातिर संसद जानुपर्ने बताएका थिए ।
सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।
विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभा नियमावलीको नियम ११२ अनुसार विधेयकमाथि ७२ घन्टाभित्र संशोधन दिन सकिनेछ । सभामुख घिमिरेले विधेयक शाखामा संशोधन पेश गर्न आग्रह गरेका छन् ।
विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राईले संविधान अनुसार विधेयक ल्याइएको बताए । संविधानमा आधारभुत शिक्षा निशुल्क र अनिवर्ष भनिएको छ भने माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनिएको छ । यसलाई कार्यान्वयन गर्ने गरी विधेयक आएको मन्त्री राईको दाबी छ ।
प्रतिक्रिया