काठमाडौं । खराब मौसमको कारण पाँच दिनदेखि अवरुद्ध रहेको मन्थली-लुक्लाको उडान पुनः सुचारु भएको छ । मौसममा सुधार आएपछी आज बिहिबार रामेछापको मन्थलीबाट लुक्लाको उडानहरु सुचारु भएका छन् ।
पाँच दिनदेखि रामेछापमा अलपत्र परेका पर्यटक हरु लुक्ला हुँदै आफ्नो गन्तव्य तर्फ जान पाउँदा निक्कै खुसी देखिएका छन् । लगातार ५ दिनसम्म लुक्लाको मौसम नखुल्दा उडान ठप्प थियो । पर्यटक मौसम शुरु भए सँगै विगतमा काठमाडौंबाट लुक्लाका लागि हुने गरेको उडानहरु केहि वर्षदेखि रामेछापबाट हुँदै आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप-लुक्ला उडानका लागि आवश्यक पुर्वाधारहरु बनाए सँगै उडानहरु सहज भएको छ । प्राधिकरणले थप सुधारका काम पनि गरिरहेको छ । लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरुले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यागेज एक्सरे मेसिनको माग गरेका छन् । हाल यी विमानस्थलहरुमा एक्सरे मेसिन नहुँदा ब्यागेज तथा सरसामानहरु हातैले खानतलासी गर्नु परेको छ । यसले गर्दा समय बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुनः प्याक गर्नुपर्दा झन्झटिलो हुने गरेको छ । मन्थली विमानस्थलबाट तारा, समिट र सिता एअरले उडान गर्दै आएका छन् ।
सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा आज बिहिबार तारा एअरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पाँच दिनदेखी मौसममा सुधार नहुँदा उडान हुन पाएका थिएनन् भने केहि पर्यटकहरु फाप्लुको उडान मार्फत् हिंडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्र तर्फ लागेका थिए । कतिपय पर्यटक भने हेलिकप्टर मार्फत् उडान गरि गन्तव्य तर्फ लागेका थिए । बिहिबार मौसम खुले सँगै उडान सहज भएको छ ।
प्रतिक्रिया