काठमाडौं । टि–२० विश्वकप छनोट खेलमा मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभर ९ विकेट गुमाएर १६५ रन जोडेको थियो । १६६ रनको विजय लक्ष्य नेपालले २ ओभर बाँकी रहँदै खेल आफ्नो पक्षमा पारेको हो ।
यो जीतसँगै नेपाल समूह ‘ए’ बाट चार अंक जोड्दै अन्तिम सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि सिंगापुरलाई पराजित गरेको थियो । यही समूहको ओमानले पनि ४ अंक बटुलेर शीर्ष स्थानमा छ । अब नेपालले बिहीबार समूहको शीर्ष स्थानमा रहेको ओमानसँग कीर्तिपुर मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
नेपालका लागि सर्वाधिक कुशल मल्ले ३४ बलको सामना गरेर ७ छक्का र २ चौकाको सहयोगमा ६५ रनको योगदान दिएका थिए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले २५ बलमा ४३ र आसिफ सेखले २३ बलमा ३२ रनको योगदान दिएका थिए ।
कप्तान रोहित पौडेलको ब्याट चलेन । त्यसपछि आएका सन्दीप जोराले १८ रन जोड्दा खेल सकिन १२ बल बाँकी छँदै नेपालले विजय लक्ष्य भेटाएको हो ।
मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिजले ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए । कप्तान अहमद फैज ३ रन जोडेपछि रन आउट भए । विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।
नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एकरएक विकेट लिए । मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो ।
त्यसपछि १३ दशमलब ५ ओभरमा ११९—३ को स्थितिमा रहेको मलेसिया विशाल योगफलतर्फ देखिएको थियो । तर सोही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलले सार्भिन मुनाइन्दीलाई आउट गरेपछि मलेसिया लगातार विकेट गुमाएर दबाबमा परेको थियो ।
प्रतिक्रिया