काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्य घटाएको छ । निगमले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै घटाइएको नयाँ मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुने बताएको छ ।
निगमले ढुवानी खर्चको आधारमा देशको विभिन्न ठाउँलाई तीन वर्गमा विभाजन गरी डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको जनाएको छ । इन्डियन आयल कार्पोरेसनले पठाएको नयाँ मूल्य एवं स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १ सय ६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १ सय ६८ रुपैयाँ थियो ।
अहिले भारतबाट भाउ केही बढेर आए पनि तिहार र छठपर्वलगायतको चाडपर्वलाई मध्यनजर गरी निगमले हवाई इन्धन, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् नै राखिएको जनाएको छ ।
चौतर्फी दबाबका कारण यसअघि निगमले गत २८ असोजमा पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँले घटाएको थियो । यसले गाडी भाडा पनि केही घट्नेछ । जसका कारण तिहारमा आफ्नो गाउँघर जाने सार्वजनिक सवारीसाधन चढ्ने यात्रुलाई भने केही राहत हुनेछ ।
शनिगममा प्रवक्ता मनोजकुमार ठाकुरले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेल र मट्टीतेलको मूल्य केही घटाइएको जानकारी दिए । उनले घटेको यो नयाँ मूल्य बुधबार बिहान १ बजेदेखि मात्र लागू हुने बताए ।
मंगलबार बसेको निगम व्यवस्थापन समिति बैठकको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत् राख्दै डिजेलको मूल्य केही घटाइएको जानकारी गराउँदै ठाकुरले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १ सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’
आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठुला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार हाललाई पेट्रोल र खान पकाउने ग्याँसको मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।
निगमले ढुवानी लागत खर्चको आधारमा काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँलाई तीनवटा वर्गमा विभाजन गरी डिजेल र मट्टीतेलको फरकफरक नयाँ मूल्य निर्धारण गरेको छ ।


प्रतिक्रिया