भुकम्प र जीबजन्तु

भुकम्प र जीबजन्तु



८ बर्ष पुरानो पर्लयकारी महाभुकम्पको डर त्रास ताजै र तातै छ । ८ बर्षमा हामीलाई धेरै परकम्प र नयाँ भुकम्पहरुले निरन्तर सचेत र साबधान गराइरहेकै छन् ।

अर्कोतिर पृथ्वीको भित्रि र बाहिरी ज्वरो (तापमान) अत्यधिक बढिरहेको अध्ययन र तथ्य उस्तै खतरनाक छन् । बाहिर जलवायु परिवर्तनले बढाएको बिश्वतापमान क्रमशः नियन्त्रण बाहिर गइरहेको छ भने पृथ्वीको भित्रि भाग बढी तातेर पग्लिएर ताप, ग्याँस, उर्जा कम्पन निस्कने क्रम पनि बढिरहेको छ । भित्रि चट्टानहरु सर्ने, जुध्ने, खप्टिने र छीद्र धाँजा खोजेर ग्याँस ताप बाहिर आउने क्रम बढिरहेकोले भुकम्पको जोखिम झन्झन् बढ्दै गएको बिश्वास गरिएको छ ।

एक अध्ययनले बताएअनुसार पृथ्वीमा २४ घण्टामा ५०० वटासम्म भुकम्प गएको रेकर्ड छ । सरदर प्रतिबर्ष २० हजार र प्रति दिन ५५ भुकम्प जाने तथ्य अनुसन्धानले प्रमाणित गरिसकेको छ । जसमध्ये प्रतिबर्ष १५ वटा ७ म्याग्नीच्युड्का भुकम्प जानेछन् भनेर किटान गरिएको छ । जब कि ६.३ म्याग्नीच्युड्लाई शक्तिशाली भुकम्प भनिन्छ ।

आधुनिक ईतिहासमा ९ वा बढी म्याग्नीच्युड्का ५ वटा महाभुकम्पहरुले हाम्रो पृथ्वीलाई टक्टकाईसकेको अभिलेख छ । ६३ बर्ष अगाडि चिलीमा गएको ९.५ म्याग्नीच्युड्को महाभुकम्पलाई आजसम्म कै सबैभन्दा ठूलो मानिएको छ । अरु ९ म्याग्नीच्युड्का महाभुकम्पहरु अलस्का, रुस, जापान र सुमात्राले भोग्नु परेको थियो । ७ भन्दा ९ म्याग्नीच्युड्को महाभुकम्प १ हजार गुना शक्तिसाली याने कि बिनासकारी हुन्छ र ५ वा सो भन्दा बढी मिनेटसम्म रहन सक्दछ भनिएको छ । यसले पृथ्वी माथिका जस्तोसुकै पूर्वाधार मात्र होईन, त्यो धर्ती नै ध्वस्त पार्ने भविष्यवाणी गरिएको छ ।

हामी नेपाली ज्यादै चलायमान र सक्रिय चट्टानको माथि बसेर भुकम्पप्रति कति सचेत, साबधान र सतर्क छौं ? अथवा, कति न्यून र शून्य पूर्व तयारीमा जीउन बाद्य छौं ? सबैलाई ज्ञात भएकै कुरा हो । एकातिर हामी मुनिको चञ्चल र चलायमान चट्टान, अर्कोतिर मानव निर्मित उत्खनन दोहन र बिनासले बिगारिएको हिमाली, पहाडी, पाखो धरातलको कारण हामी नेपाली सधै प्राकृतिक बिपद्को भुङ्गोमा छौं ।

१० म्याग्नीच्युड्को महाभुकम्प जाने खतरनाक फल्टलाईन् पृथ्वीमा नभएको बिश्वास गरिएको छ, तथापि ९ म्याग्नीच्युड्को महापर्लयकारी भुकम्पको पूर्वानुमान लगाएर गरेको पूर्व तयारीले भावी सन्ततीको जीउधनको क्षती न्युनिकरणमा निःसन्देह मद्दत पु¥याउने छ ।

संधै अस्थिर राजनीति, अस्थिर सरकार र राजनीतिक ग्रहणबाट थला परेका राष्ट्रिय संयन्त्र तथा उद्धार संघ संस्थाहरु भएको परनिर्भर र आशे मगन्ते मुलुकका हामी नागरिकहरु आफै सचेत सतर्क भई सम्भावित बिपद्बाट बच्न बचाउन ठूलो प्रतीज्ञाका साथ प्रतिबद्ध रहेनौं भने बाच्नेहरुको हात र साथमा पीडा, पाप र पश्चाताप बाहेक केही बाँकी रहने छैन । बचेकुचेका घाईते, अपाङ्गहरुले हामीलाई लापर्बाहीको पराकाष्ठा निम्त्याउने धिङ्न्या भनेर आजीवन धिक्कारिरहने छन् ।

भुगोलको बिद्यार्थी र बन्यजन्तुको संरक्षणकर्मीको हैसियतले भुकम्प र जीवजन्तु जगतलाई जोडेर अध्ययन अनुसन्धा गर्ने आफ्नो तीब्र ईच्छा सम्बोधन गर्न र बिज्ञान प्रबिधिको पहुँचबाट अझै टाढा हाम्रा दूरदराजका गाउँ बस्ती समुदायलाई प्राचिन बिश्वासको प्रमाणबाट जोगिन जोगाउन सुझाव दिने पबित्र अभिप्रायले यो आलेख पस्किदै छु ।

पशुपंक्षीको आदत
हामी कति प्रकृति र पशुपंक्षीमैत्री छौं वा छैनौं ब्याख्या गर्न जरुरी ठान्दिन ।

तर प्रकृति र पशुपंक्षी, जलचर सबै मानवमैत्री छन् । मानवको रक्षा कल्याण, सम्मान चाहान्छन् । सह–अस्तित्वमा औधी रमाउदछन् भन्ने स्वत सिद्ध तथ्यलाई पुनरपुष्टि गरिरहन पनि आवस्यक ठानिन ।

तर प्राकृतिक बिपत्ति र बिशेषत भुकम्पबाट मानिसलाई जोगाउन जीवजन्तुले कति चासो–चिन्ता र मिहेनतसाथ बल बुद्धि समय खर्चिन्छन् त्यसको पनि लामो ब्याख्या आवस्यक छ भन्ने लाग्दैन ।

महाभुकम्पले अत्यधिक हल्लाएको पनौती घरको आफ्नो र मातापिताको अनुभव सेयर गर्दा जीवजन्तु आपद बिपद्को भबिष्यवाणी गर्न कतै मद्दतकार हुन्छन् कि भन्ने बिश्वास लिएको छु ।

पोखरीका जुङ्गे माछा (क्याट् फिस्) महाभुकम्प जानु ७ दिन अगाडि देखि पानीमा तैरिरहे । पानीभित्र जादै गएनन् । २४ घण्टा अगाडि पोखरी नाघेर बारीमा गए । मैले माछा टिपेर ल्याएँ र उद्धार गरिएका माछालाई पोखरीमा छाडें । ती माछा पुनः पोखरी छाडेर वाहिर गए ।

त्यो, अकल्पनीय दृश्यलाई मैले अनिष्टको संकेत भनें ।

महाभुकम्पमा पोखरी चिरा प-यो । आजसम्म पानी अडेको छैन ।

३ दिन देखि गोरु खोजेर हैरान गाईलाई साँढे जुटाईदिएँ छिमेकीमा । महाभुकम्प जाने शनिवार बिहान ८ देखि १० बजेसम्मको प्रयास बिफल भयो । गाईले गोरुलाग्न मान्दै मानिनन् । तीब्र शारीरिक क्रिडा ईच्छालाई एक्कासी नियन्त्रण गरेर गाईले असीम धैर्यता र उत्तेजना नियन्त्रणको आत्मबल प्रदर्शन गरेर हामीलाई चक्मा दिईन् । अरु धेरै किसानको घरमा समान दृश्यको रहस्य र आश्चर्य देखियो ।

बिपद्को संकेतमा गर्भधारण गर्नु हुँदैन भने जस्तै बेथा लागेर ब्याउन तयार भईसकेका गाई भैसीहरुले २४ घण्टा बेथा लम्बाएर ब्याएको रोचक घटना सुनाए किसानहरुले ।

लैनो गाई भैंसीले दुध लुकाएको कथा उस्तै रोचक थियो । शनिवारको महाभुकम्प । अघिल्लो दिन शुक्रबार गाईहरुले पूरै दुध लुकाएका थिए । आफू मरेर बच्चाको पेट भर्नलाई ।

शुक्रबार चर्न गएका गाई बस्तु बाख्रा राती खोरमा आउन नमानेर गोठालालाई १२ बजाएका थिए । शनिवार बिहानै देखि गाईबस्तु गोठमा कराएर दाम्लो चुँडाउला जस्तो गरेका थिए । धेरै गाईबस्तु कमजोर किलो र दाम्लो चुडाएर खुला बारीमा पुगेका थिए र अरुसबैलाई गोठ बाहिर आउन संकेत दिईरहेका थिए ।

कुखुराले ७ दिन अगाडिदेखि रुख चढ्ने, हागामा बस्ने अभ्यास गरिरहेका थिए । म खुशी भएर लोकल कुखुराले जंगली रुप धारण गरे भन्दै फोटो खिच्न रमाईरहेको थिएँ । पोथीहरुले ३ दिन अगाडि देखि फुल पार्न छाडेका थिए ।

आमाले सौखले पाल्नुभएको कालिजले ७ दिन अगावै जमीन खन्ने, प्वाल बनाउने अस्वभाविक आदत देखाएका थिए । दर्जनौं कालिज शनिवार बिहानै जाली च्यातेर, भत्काए, सुरुङ्ग खनेर भागिसकेका थिए ।

३ वटा बदेल आपसमा जुधेर आवाज निकाले, चिच्याए र महाभुकम्पको दिन खाना नखाएर भोक हड्ताल जस्तो गरे ।

शनिवार बिहान ८ बजे देखि मौरीले घार छाडे र बारीको आकासै कालो मुस्लो बनाएर भुनभुनाए ।

अघिल्लो दिन राती बेसुर र बेचैनले हिंडिरहेको सालकले हाम्रो पोखरीको आश्रय लियो । वा, अज्ञातबस झुक्किएर पोखरीमा खस्यो, जसलाई मैले बिहानै उद्धार गरेर जङ्गल छाड्नुप-यो ।

सर्प, गोहोरो, दुम्सी शुक्रबारै पाखाबाट मडारिदै बेसी समतल ईलाकातर्फ ओहिरिए ।

परेवाले घरमा लाएको गुँड छाडेर आकासमा लामो उडान भर्न गायब भए ।

फार्महाउसको बिचित्र रहस्य कोही अनिष्ट लाग्यो, कोही अनौठो र अस्वभाविक । महाभुकम्पको न अनुमान गरियो । न कल्पना । महाभुकम्प पछि तिनको आदतको एक एक अध्ययन मूल्याँकन गर्दा त्यो महाभुकम्पको स्पष्ट पूर्व जनाउ रहेछ ।

महाभुकम्प पछि घैंटामा घाम लाग्यो । तबमात्र भुकम्प र जीवजन्तुको स्वभावको गहिरो अध्ययन अनुसन्धान गर्ने ईच्छाशक्ति जाग्यो ।

सन् १९७५ मा चीनको हाईचेङ्ग सहरमा ठण्डामा हाइबरनेसनमा गएर मस्त सुतिरहेका सर्पहरु एक्कासी जमीन बाहिर निस्किए । सहरको बास त्यागेर बाहिर टाप ठोके । त्यसलाई भविष्यबाणी ठानेर अधिकारीहरुले १८ लाख बासिन्दालाई स्थानन्तरण गरेर सहर खाली गराए । खाली सहरमा ७.३ रेक्टर महाभुकम्प आयो । समयमा ठूलो जनउद्धार भयो । मर्नेको संख्या १ हजारमा सीमित रह्यो । नत्र भने मर्नेको संख्या १ लाख ५० हजार पुग्ने थियो ।

त्यसको १ बर्षपछि १९७६ मा चीनकै वाङसान सहरमा ७.८ रेक्टरको महाभुकम्पमा ६ लाख ५५ हजारको ज्यान गयो । सर्प, भ्यागुता, मुसाले सहर छाडेर पूर्व जनाउ दिदा बेवास्ता भयो र मानिसलाई सहर छाड्न बाद्य नपारिदा दुर्भाग्य भयो ।

२०११ अगष्ट २३ मा अमेरिकाको भर्जिनियामा ५.८ रेक्टरको भुकम्प जानु अगाडि जनावरहरुले पूर्व जनाउ दिएको र बादरहरुले जमीन छाडेर रुखमा आश्रय लिएको स्मिथ सोनियन जुलोजिकल पार्कले रेकर्ड राखेको थियो ।

बैज्ञानिकहरुको दाबी छ भ्यागुताहरु सक्रिय रतीक्रियाको समयमा समेत उत्तेजनालाई त्यागेर सुरक्षित स्थानमा पुगिसकेका हुन्छन् । किनभने उनीहरुले भुकम्प अगाडिको पृथ्वीको भित्री भागबाट निस्कने ताप, ग्याँस, कण र कम्पनलाई अग्रीम चाल पाउदछन् र सर्वाधिक महत्वको प्रजनन प्रक्रिया नै त्यागेर सुरक्षित स्थानमा पुगिसकेका हुन्छन् ।

बिश्वभरिका सबै जीवजन्तुले भुकम्प पूर्व असामान्य क्रियाकलाप देखाएर सम्पूर्ण प्राणीजगतलाई सतर्क गराउने गरेको दाबी गर्दछन् अमेरिकी जीव बैज्ञानिक रुपेट सेलङ । चीनका बैज्ञानिकहरुले ५८ प्रजातिका जनावर अति उपयोगी हुन्छन् भनेर त्यसको बुकलेट नै बनाएर बाँडेका छन् । त्यसमा सर्प, मुसा र चमेराहरु अति महत्वपूर्ण मानिएको छ ।

बन्यजन्तुको हकमा बाघ, चितुवा, सिंह, हात्ती, गैंडा, भालु, खरायो, मृग, बिरालो, गधा, घोडा, घोरल, झारल नावर भुकम्प अगावै दुश्मन आए झैं प्रतिरक्षा मुद्रा र पोजिसनमा जान्छन् ।

सुगाहरु पिंजडा भत्काउने गरी आतिएर कराउदछन् र पिंजडा ठुङेर तनावग्रस्त देखिन्छन् ।

हात्तीले गोडा चाल् परेड गरिरहन्छ र भुकम्पको समयमा सुँड्ले समेत जमीनमा टेकेर स्थिरता कायम गर्न कोशिस गर्दछ ।

सन् २००८ को डिसेम्बर १४ मा अन्टार्कटिकाको माकारी टापुमा गएको ८.१ रेक्टरको भुकम्प अगाडि त्यहाँका पेन्गुइन् चराले टापु छाडिसकेका थिए । अन्यथा विश्वकै सवैभन्दा धेरै पेन्गुइन् पाईने त्यो ठाउँमा लाखौं पंक्षीहरु मर्ने थिए ।

भुकम्प जस्तै एक्कासी आउने अकल्पनीय सुनामीको अग्रीम सुचना पाउने भएकोले सुनामीमा जीवजन्तुको क्षति भएको र अस्थिपञ्जर भेटिएको रेकर्ड र प्रमाण नभएको बताउछन् बिज्ञहरु ।

पशुपंक्षी शक्ति
अबोध जीवजन्तुलाई प्रकृतिले शक्तिसाली ईन्द्रीयहरु दिएकी छिन्, जसले पृथ्वीमा प्रवाह हुने ज्वाला, ताप कण, ग्याँस, कम्पन तथा चुम्बकीय र बिद्युतीय प्रवाहलाई छिटो सुँघ्न, सुन्न र देख्न सक्ने अद्भूत शक्ति प्रदान गरेका छन् ।

आफ्नो शत्रु र भक्षकलाई अग्रीम देख्न सक्ने शक्ति जस्तै भुकम्प र सुनामीलाई अग्रीम चाल पाउने र सबै प्राणीजगतलाई सतर्क गराउदै बचाउन खोज्ने पशुपंक्षीको सुन्दर र अमूल्य आदतलाई हामीले कति अध्ययन, अनुसन्धान र पत्यार गरेका छौं त्यो आ–आफ्नो ठाउँमा छ । तर अध्ययन अनुसन्धान र पूर्व नजिरले प्रमाणित गरेको तथ्यलाई हामीले पनि थप अध्ययन अनुसन्धानको बिषय बनाउदा कुनै हानी नोक्सानी हुँदैन ।

बैज्ञानिकहरुले कमाल सत्य फेला पारेका छन् कि पृथ्वीमा २ लाख भन्दा बढी जीवजन्तु र किराले पृथ्वीको भित्र पिंधको भुकम्पीय तरंगलाई सबैलाई सतर्क गराईदिन्छन् । मुसा, छुचुन्द्रो झ्याउकिरी, बिच्छी, खजुरा, माकुरा, कनसुत्लो, माउसुली, गोहोरो, सर्प, सालक, दुम्सी, छेपारोसँग जमीनभित्रको तरंग बोध गर्ने अद्भूत क्षमता हुन्छ ।

कृषि प्रधान देशका निम्न र मद्यम बर्गीय जनसागरको गाईबस्तु बाख्रा, कुखुरा, खरायो, मौरी, पेरवा, गौथली, मुसा, छुचुन्द्रा, माउसुली, छेपारोसँगसगै भान्छा ओछ्यान हुन्छ । तिनको आदत अध्ययनको अपूर्व अवसर त्यो भन्दा अरु के हुन सक्दछ ?

सहरका धनाढयहरुसँग पेट्सको रुपमा कुकुर, बिरालो, खरायो, परेवा, सुगा साथमा छन् । भुकम्प पूर्व जनाउका महत्वपूर्ण प्राकृतिक टुल्स् निःशुल्क उपलब्ध छन् । खाँचो केवल जिज्ञाशा र अध्ययन ईच्छाशक्तिको मात्र छ ।

भुकम्पको भविष्यबाणी
जो भुकम्पको भविष्यबाणी गर्न सक्दछन्, ती अबोध छन् । बोलीबिहीन छन् । आफू बाँचेरै छाड्दछन् । अमूल्य बिर्य, अण्डा, दुध, सन्तान बचाउन खप्पीस छन् । आफ्ना मालिक (मान्छे) बचाउन चिच्याउन्, कराउदछन्, उफ्रिन्छन्, हातखुट्टा चलाउदछन्, सिंगौरी खेलेर पृथ्वी मुनिको गड्बड् संकेत गरिदिन्छन् । कान, नाक, जिब्रो, पुच्छर चलाउछन्, पड्काउछन् । तर हामी मालिक ती सबै दृष्य बेवास्ता गरेर आफ्नै मपाई, घमण्ड र अहंकारमा रमाईरहेका हुन्छौं । परिणाम, हामी ठहरै मर्दछौं र अवोध जीवहरु बाँचिछाड्छन् ।

जीवजन्तुको यो भविष्यबाणी परापूर्वकालदेखि थियो र अनन्तकासम्म रहिरहनेछ ।

मानव जातिका सामु केवल २ मात्र विकल्प छन्–

पहिलो, अबोध जीबको संकेतलाई सुक्ष्म अध्ययन गर्नु, डिकोड् गर्नु, बुझ्नु र सतर्क एवं सुरक्षित रहनु । जुन नेपाल जस्तो दुर्गम बिकट पत्र पत्रभित्र लुकेको मुलुकलाई मितब्ययी र कामयावी हुन सक्दछ ।

दोश्रो, बिज्ञान प्रबिधिको बिकासलाई पृथ्वीभित्रको जलन, ताप र चलायमान चट्टानका पत्रमा पु¥याएर तिनको भाईब्रेसन याने कि कम्पन र हर्कतको अग्रीम सूचना लिनु । अथवा, छीद्रबाट निस्कने ग्याँस, कण, तापका पूर्व सुचना लिनु र दु्नियालाई प्रवाह गरेर सावधान गराउनु ।

आजसम्म नभएको यो प्रविधि आशा गरौं भविष्यमा आउने छ र जनधनको क्षति रोक्ने छ ।

तबसम्मको लागि महाभुकम्प आउछ आउछ भन्ने भविष्यवाणी हरेक नागरिकले हरपल गरिरहनु र भुकम्पसँग उफ्रिने, रमाउने र बाँच्ने सुरक्षात्मक उपाय अनिवार्य अपनाई छाड्ने दृढ संकल्प नै क्षति न्युनिकरणको उत्तम उपाय हो ।

महाभुकम्पबाट सिकेको पाठ
महाभुकम्पमा अस्थिर सत्ता र सरकार गायव भएको थियो । राजनीतिकर्मीलाई सम्पर्क र समन्वय गर्न जोडबल लगाउदा महिना दिन सम्म सबै लापत्ता थिए ।
१ महिनापछि गुप्तवास (हाईबरनेसन) बाट निस्केको सरकार र प्रशासनको प्राण थिएन । हुति धेरै टाढाको कुरा ।

प्रधानमन्त्री – मन्त्री – सचिव – प्रदेश र स्थानीय तह बीचको चेनअफ् अमाण्ड भताभुङ्ग लथालिङ्ग थियो ।

बिदेशी उद्धारकर्ता र सहयोगलाई स्वागत गर्ने, परिचालनलाई निर्देशन दिने सरकारी संयन्त्र मृत जस्तै थियो । मुलुक महाभुकम्पको ३ महिनासम्म सरकार बिहिन, प्राण बिहीन अवस्थामा थियो ।

सरकारको जब होस आयो, राजनीति हावी भयो । सहयोगमा तछाड्मछाड् र जसको शक्ति उसको भक्तिमा परिणत भयो । पहिले नगदमा आँखा, त्यसपछि जिन्सी कब्जाको दाउ ।

बिपत्तिमाथि फोहोरी राजनीति र कमाउधन्दा । नेपाली सेनाले डटेर खटेर सरकारको काम चलायो । “सत्ता लिउ” भन्ने दबाब र प्रभावलाई टेरेन र गुमनाम सरकारलाई प्राण भरेर खुट्टा टेकाउन ईमान्दार योगदान गरिरह्यो ।

आज सरकार झन् कमजोर र प्राणबिहीन छ । खाली हात छ । र, कुनै राष्ट्रिय बिपत्ति थेग्ने थाम्ने र पार लाउने सामथ्र्य उसँग छैन ।

प्रार्थना छ, परालको खुट्टामा उभिएको धराप सत्तालाई कुनै प्राकृतिक बिपद् नआवस् । तर, आएमा न पहिले झै अन्तराष्ट्रिय उद्धार सहयोग प्राप्त हुनेछ, न राहत सहयोग । निकट भविष्यमा पर्लयकारी बिपद् आएमा सत्ताले त्वम् शरणमः गरेर बिदेशी हस्तक्षेप निम्त्याउने र बिलयको अवसर छोप्ने प्रबल संभावन सन्नीकट् छ । बिगतको महाभुकम्पको ताजा तीतो नजीरले म तत्कालीन प्रमुख उद्धार ईन्चार्जलाई त्यही संकेत दिन्छ ।

उपसंहार
हाम्रो मालिक प्रकृति सरल रेखाबाट हिड्दछ । हामी आफूलाई मालिक ठान्ने महामानव बक्र रेखाको यात्रा गर्न खप्पीस छौं । प्रकृतिलाई ठग्न, चोर्न, सिध्याउन माहीर छौं ।

“जलवायु परिवर्तन” कति सुन्दर भाषा । तर त्यो हुनुपर्ने थियो “मानव निर्मित जलवायु परिवर्तन” वा “मानवद्वारा ठगिएको तातो पृथ्वी” वा “मानवद्वारा बलात्कृत धर्तीमाता”

हामी पानीमाथिको ओभानो हुन उस्तै खप्पीस छौं । दोष जति धर्तीलाई, प्रकृतिलाई र मौसमलाई ।

तर, भुकम्प मानवनिर्मित होइन । नितान्त प्राकृतिक हो । भद्धा बिकास, पूर्वाधार, अग्लाठूला भवनहरु, कुरुप सहर, नदी नहर सडक अतिक्रमण भुकम्पलाई सर्बशक्तिमान बनाउने खेलौना र मानवजातिलाई ज्यान लिने दुश्मन तथा धराप (एम्बुस्) हुन् । तसर्थ, भुकम्पको चौकीदार, रक्षाकवच, उद्धारकर्मी हामी हरेक नागरिक हौं । भुकम्पको ज्ञान, सचेतना र पूर्व तयारीले क्षति शून्य हुने निःशुल्क बिकल्पलाई निःशर्त अंगालौं । सरकार र सहयोगको मुख नताकौं । उद्धार राहत र सहयोगको नाममा मुलुक निल्ने विदेशी सहयोगलाई झन् नगुहारौं । बरु युगयुगसम्म संगसगै बसे बाँचे हुर्केका जीवजन्तु, जलचर, पंक्षीको सहारा लिउँ । सुस्केरा सुनौं । र, तिनको रक्षा कल्याण सम्मान गर्दै आफूपनि साधानीपूर्वक सुरक्षित रहने सरल प्राचीन विकल्पको खोजि गरौं ।

भुकम्प पृथ्वीलाई पिङ्ग हो, कोक्रो हो , रमाईलो प्राकृतिक खेल । त्यसलाई सहश्र ग्रहण गर्नु र सुरक्षित साथ त्यो रहस्यमय र रोचक दृश्यलाई मोबाईलमा कैद गरेर टिक्ट्क बनाउनु हाम्रो बुद्धिमानी हो । खुवी हो ।

अन्त्यमा पुनः प्रार्थना छ भुकम्प नआवस् । आएमा क्षती नहोस् ।