प्रधानाध्यापक मृत्यु प्रकरण : उचित छानबिनकाे माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

प्रधानाध्यापक मृत्यु प्रकरण : उचित छानबिनकाे माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



सिरहा । सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणकाे छानबिनगरी दोषीमाथि कारबाहीकाे माग गर्दै मृतकका परिवार र आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयाको सडकखण्ड अवरुद्ध गरेका छन् ।

मिर्चैया नगरपालिका ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परिवारजनले उचित न्यायको माग गर्दै मिर्चैयाको कटारीचौकमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन् । प्रहरीले सडक क्लियर गराउने प्रयास भईरहेको जनाएको छ ।

उनीहरुले घटनाको प्रकृति हेर्दा भर्याङ्ग र पासो लागेको कोठामा रगत देखिएकाले हत्या भएको दाबी गरेका छन् । साहकी श्रीमती सहितका परिवार र स्थानीयले घटना सूनियोजित भएको आरोप लगाएका छन् ।

साेमबार बिहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीयहरुले सडक जाम गरेर बसेका छन् । उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिएकी छिन् ।

घटनास्थल पुगेका आफन्तले घटनाको प्रकृति हेर्दा त्यहाँका स्थानीयले गरेको व्यवहारले हत्या गरेको आशंका गरेका छन् । उनले भने, ‘घटनास्थलमा देखिएका रगतका डोभले र पासोको अवस्था हेदा झुड्याएको जस्तो देखिन्छ । यसको उचित छानबि हुनु पर्छ ।’

प्रधानाध्यमपक साह आइतबार बिहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए । उनको शव पोष्ट मार्टमकोलागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ ।

यता प्रहरीले अहिलेसम्मको घटना प्रकृतिले आत्महत्याको सङ्केत गरे पनि अनुसन्धान जारी रहेको बताएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केही बताउन सकिने बताएकाे छ ।