अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा

अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा



काठमाडौं । सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्लाका लागि याे रकम निकासा गरिएको हो ।

त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिमका लागि ५०/५० करोड रुपैयाँ निकासा भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड रुपैयाँ निकासा भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गएकाे कात्तिक २६ गतेकाे निर्णयबाट भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८० स्वीकृत भएको थियो ।

याे कार्यविधिले निर्दिष्ट गरेको भूकम्प प्रभावित लाभग्राहीको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि याे रकम निकासा गरिएको खड्काले बताए ।

याे रकम पालिकामार्फत लाभग्राही पहिचान गरी सम्बन्धित पालिकामार्फत जानेछ । प्राधिकरणले उल्लिखित कार्यविधि तथा प्रचलित कानुनले तोकेअनुसार लेखा राख्ने, लेखा परीक्षण गर्ने र गराउने व्यवस्था गर्न अनुरोध पनि गरेको छ ।