गौशालामा झडप, आचार्य श्रीनिवास पक्राउ

गौशालामा झडप, आचार्य श्रीनिवास पक्राउ



काठमाडौं । गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको छ ।

प्रहरीले प्रदर्शनस्थलबाट ‘धर्मगुरू’ भनिने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ ।

आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएर गौशाला प्रहरीमा राखिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । उनीमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ । सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै उनीमाथि मुद्दा चलाउने तयारी गरिएको हो ।

आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हाे ।

आचार्य श्रीनिवास पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।

यसअघि नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले गत असोजमा आचार्य श्रीनिवासलाई पक्राउ गरेको थियो ।

हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

श्रीनिवास सहित १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएकाे छ ।