दुर्गा प्रसाईंलाई काठमाडौं पस्न रोक

दुर्गा प्रसाईंलाई काठमाडौं पस्न रोक



काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंलाई काठमाडौं पस्न रोक लगाइएकाे छ । उनलाई आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको हाे । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामै रोकेर फिर्ता पठाएको छ ।

प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो । त्यहाँ प्रहरीसँग केहीबेर बादविवाद समेत भएको बताइएकाे छ । प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको हाे ।

प्रहरीका अनुसार प्रसाईंलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश छ ।

सोमबार गौशालामा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रसाईंका १५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।