‘पूर्वी स्टार’ गायन प्रतियोगिता सञ्चालन

‘पूर्वी स्टार’ गायन प्रतियोगिता सञ्चालन



टक्सार (भोजपुर) । प्रतिभा भएर पनि ठूला प्रतियोगितामा सहभागी हुन नपाएका नयाँ कलाकारका लागि ‘पूर्वी स्टार’ गायन प्रतियोगिता सञ्चालन गरिएको छ । ओझेलमा परेका प्रतिभालाई अवसर दिने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । हाङ अनलाइन म्युजिक प्रालिले आज भोजपुर सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतिस्पर्धीका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो ।

यही मङ्सिर २५ गतेसम्म अनलाइन आवेदन लिएर पुस १ गतेदेखि अडिसन सुरु गरिने कार्यक्रमका निर्देशक टिआर लिम्बूले जानकारी दिए । सहभागिताको लागि आवेदन शुल्क रू एक हजार लाग्ने जनाउँदै उक्त रकम आयोजक कम्पनीको क्यूआरमा जम्मा गरेर रसिदसहित आवेदन दर्ता गर्नुपर्ने उनले बताए ।

आयोजकका अनुसार प्रतियोगितामा तीन चरणका अडिसन सञ्चालन गरिने छ । पहिलो चरणको अडिसन अनलाइनमार्फत हुनेछ । अडिसनका लागि ह्वाटस् एपमा गीत गाएर भिडियो पठाउनुपर्ने निर्देशक लिम्बूले बताए । उनका अनुसार पहिलो अडिसनबाट छनोटमा परेका सहभागीले दोस्रो चरणको लागि ट्र्याकमा गीत गाएर भिडियो अनलाइनमार्फत पठाउनुपर्ने छ ।

सो चरणमा छनोट भएका सहभागीलाई सुनसरीको धरानमा प्रत्यक्ष सहभागीतामा लाइभ राउण्डमा सहभागी गराइने लिम्बूको भनाइ थियो । उनका अनुसार पूर्वी स्टारको विजेताले रू चार लाखसहित सुनको सिक्री, ट्रफी, एउटा गीत रेकर्ड र प्रमाणपत्र पाउने छन् ।

दोस्रो हुनेले रू एक लाख ५० हजारको साथमा ट्रफी, एउटा गीत रेकर्ड र प्रमाणपत्र तथा तेस्रो विजेताले रू ५० हजार, ट्रफी, एउटा गीत रेकर्ड र प्रमाणपत्र पाउने छन् । तेस्रो चरणदेखि प्रत्येक राउण्डका उत्कृष्टले एक/एक थान गितार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा सङ्गीतकार खगेन्द्र यक्सो र गायक कुसल थुलुङ रहेका छन् । पूर्वी स्टार गायन प्रतियोगितामा सबैले सहभागिता जनाउन पाउने आयोजकको भनाइ छ ।