काठमाडौं । झापाको बाह्रदशीमा बुधबार राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउने दुवै मोटरसाइकलमा सवार थिए । उनीहरूको पहिचान खुलेको छैन ।
बाह्रदशी गाउँपालिका–५ खटखटी टोलमा पर्ने चारपाने–राजगढ सडकखण्डमा राति १०:४० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । राजगढबाट चारपानेतर्फ गइरहेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन जडित ट्याक्टरले ठक्कर दिएको थियो ।
ठक्करपछि मोटरसाइकलमा रहेका दुवै जनाको मृत्यु भएको हो । दुर्घटनालगत्तै ट्याक्टर चालक घटनास्थलबाट फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । मृतकको शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।
प्रहरीले दुर्घटनाको कारण र घटनासम्बन्धी अन्य विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया