उद्योग व्यवसायीको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत

उद्योग व्यवसायीको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत



मकवानपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज हेटौँडामा आयोजित छलफल कार्यक्रममा उनले बैँकको ब्याजदर र भुक्तानी सम्बन्धी क्षेत्रमा देखिएका समस्या सम्बोधन गरिने बताए ।

उनले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगका सहकार्यमा अघि बढाउने र हेटौँटा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै नै निर्णय गर्ने बताए । “पुरानो दायित्व बढ्दो क्रममा छ, अब जति आम्दानी अनुमान छ सोही अनुरुप बजेट बनाउने छौँ”, अर्थमन्त्री डा महतले भने । उनले क्रसर उद्योगतर्फ नवीकरण र कार्यक्षेत्रको विषयमा तत्काल छलफल गरिनाका साथै मकवानपुरमा हुने मेला महोत्सवमा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरी काम गर्न आग्रह गरे ।

सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता र निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले आ–आफ्नो क्षेत्रमा परेका विभिन्न विषय उल्लेख गरी ध्यानाकर्षण पत्र बुझाए थिए ।